|  

वैकल्पिक विधिबाट विद्यालय सञ्चालन गर्दै पर्वतका स्थानीय तह

१६ साउन, काठमाडौँ । नयाँ शैक्षिक सत्र शुरु भएको झण्डै डेढ महिना पुगिसकेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण विद्यालय सञ्चालन गर्ने विषय अन्यौलमा पर्दै गएको छ । सङ्क्रमणको दर बढ्दै जाँदा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न समस्या भइरहेका बेला पर्वतका स्थानीय तहहरुले वैकल्पिक विधिबाट पठनपाठन गराउन थालेका छन् । 
    
पर्वत सदरमुकाम कुश्मा र आसपासका क्षेत्रमा गएको असार १५ गतेदेखिनै निजी तथा सामुदायिक विद्यालयले वैकल्पिक कक्षा सञ्चालन गरेका थिए तर ग्रामीण भेगमा रहेका स्थानीय तहमा भने अन्यौल रहेको थियो । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण भएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने अवस्था नदेखिएपछि अन्य छ वटा स्थानीय तहले वैकल्पिक विधिवाट कक्षा सञ्चालन गर्न थालेका हुन् । 

जिल्लाको मोदी गाउँपालिकाले अनलाइन कक्षा, घरदैलो कार्यक्रम, टोल शिक्षा र मोबाइल फोनको प्रयोग गरी पठनपाठन गराउन निर्देशन दिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग गरी उपयुक्त विधि अपनाएर पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै शिक्षक विद्यालयमा हप्ताको दुई दिन अनिवार्य उपस्थित हुने, विद्यालयको कार्ययोजनाअनुसार सिकाइ सहजीकरणमा सक्रिय भएर लाग्न निर्देशन दिइएको उहाँले बताउनुभयो । 

त्यसैगरी दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले कक्षा १ देखि ७ सम्म टोल शिक्षामार्फत विद्यार्थीलाई पढाउन विद्यालयलाई निर्देशन दिएको छ । त्यसैगरी कक्षा ८ देखि माथि अनलाइन र भर्चुअल कक्षा सञ्चालन गरी पठनपाठन नियमित गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो । लामो समयको बन्दाबन्दीमा विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् र शैक्षिक सत्रको सदुपयोगका लागि यस्तो निर्देशन गरिएको लामिछोनले बताउनुभयो ।