|  

ऐश्वर्याले यसकारण नकारेकी थिइन् ‘राजा हिन्दुस्तानी’

१६ साउन, काठमाडौँ । सन् १९९७ मा आएको फिल्म ‘और प्यार हो गया’ बाट बलिउडमा सानदार डेब्यू गरेकी ऐश्वर्या राय बच्चन बलिउड इन्डस्ट्रीकी टप अभिनेत्रीमध्ये एक हुन् । 

सन् १९९४ मा मिस इन्डिया प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि मिस वर्ल्डको उपाधि जितेकी उनले मणि रत्नमको फिल्म ‘ईरुवर’ बाट अभिनय करिअर सुरु गरेकी थिइन् । तर, योभन्दा अगाडि ‘और प्यार हो गया’ रिलिज भयो ।
 
मिस वर्ल्डको उपाधि जितेपछि ऐश्वर्याका लागि बलिउडको बाटो खुलेको भन्ने गरिन्छ । तर, उनलाई मिस इन्डिया प्रतियोगितामा भाग लिनुभन्दा अगाडिदेखि नै फिल्मबाट अफर आउन सुरु भएको थियो, जसमध्ये एक सन् १९९६ को ब्लकबस्टर फिल्म ‘राजा हिन्दुस्तानी’ पनि हो । तर, उनले मिस इन्डियामा सहभागिता जनाउन योसहित अन्य चार ठूला फिल्मको अफर नकारेकी थिइन् । 
 
एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘धेरैलाई यो लाग्छ कि मैले ब्यूटी प्याजेन्टका कारण बलिउडमा अवसर पाएँ तर मसँँग यस्तो भएको थिएन । ब्यूटी प्याजेन्टभन्दा पहिले नै मलाई फिल्मबाट अफर आउन थालेको थियो । तर, मिस इन्डियामा भाग लिन मैले फिल्मको प्रस्ताव अस्वीकार गरेँ । मैले मिस इन्डियामा भाग नलिएको भए सायद मेरो पहिलो फिल्म ‘राजा हिन्दुस्तानी’ हुने थियो ।’ 
 
‘राजा हिन्दुस्तानी’ को प्रिमियरको समयमा ऐश्वर्यामाथि सञ्जय लीला भंसालीको नजर परेको थियो र उनलाई ‘हम दिल दे चुके सनम’ मा कास्ट गरेका थिए । यो फिल्मका लागि सञ्जयसँग दुई नाम थियो, करीना कपूर र मनीषा कोइराला । तर, ऐश्वर्यालाई भेटेपछि उनको मन बदलियो । उनको सुन्दरता र आवाजबाट प्रभावित भएर भंसालीले फिल्ममा ऐश्वर्यालाई नन्दिनी बनाउने निर्णय गरे ।