|  

कहिले सुल्टिएला विष्णु माझीको जीवनको पहेंली 

२८ भदौ, काठमाण्डौ । “जेलैमा हो जेलैमा,चरी जेलैमा, मै छोरी रुँदारुँदै बेसी मेलैमा” तीजको अवसरमा निकालिएको सवैभन्दा धेरै हेरिएको तिज गीत ।

उक्त गीत तीन साताअघि युट्युबबाट सार्वजनिक भएको थियो । एक साता नबित्दै गीतले ट्रेन्डिङको शीर्ष स्थान कब्जामात्र गरेन, मानिसको मुखमुखमा झुन्डिन पनि सफल भयो । तीजलाई लक्षित गरेर बनेको गीतले हरेक ब्यक्तिको टिकटकमा छायो । जुन गीत लोक गायिका विष्णु माझीले गाएकी हुन् । 

विष्णु माझी यस्ती गायिका हुन् उनले गायक गीत हरेक नेपालीको मुखमा झुनिने गर्दछ । उनले गाएका हरेक गीत नेपालीको मन मुटुमा बस्न सफल भएपनि उनी भने दर्शक र स्रोताबाट टाढै रहन्छिन् । उनी कही पनि देखिन्नन् स्टेज होस् या सार्वजनिक कार्यक्रम । त्यसैले पनि होला उनीमाथि सवैको चासो बढी नै हुनेगर्दछ । जब जब उनको गित सार्वजनिक हुन्छ तब तब उनले गाएको गीतसँगै उनको ब्यक्तिगत जीवनको पनि चर्चा हुने गर्दछ । उनले गायको गीतको तुलनामा अन्य गीत पुग्न लामै अवधि कुर्नुपर्ने हुनसक्छ ।

विष्णु माझी विवाह गरेपछि बाहिर सार्वजनिक नभएको कुरा बाहिर आइरहन्छ । विष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारी पनि लोक सङ्गीत क्षेत्रमै जोडिएका व्यक्ति हुन् । विष्णुले कुन गीतमा काम गर्ने वा नगर्नेदेखि आर्थिक पाटो सबै सुन्दरमणिले नै हेर्ने गरेको बताइन्छ । यतिसम्म भनिन्छ कि विष्णु माझीले मोबाइल समेत बोक्दिनन् । गीतको रेकर्डिङ गर्दा समेत उनले रातको समयमा गर्छिन् । उनले गीत रेकर्ड गरिरहँदा स्टुडियोमा कसैलाई प्रवेश गर्न दिँइदैन् । रेकर्डिङ गर्ने प्राविधिकले समेत विष्णु माझीको मुख देख्दैनन् । यिनै आधारलाई मानेर होला धेरैले विष्णु माझीलाई उनकै श्रीमानले कैद गरेर राखेका छन् भन्ने आरोप लगाउँछन् । तरपनि यस विषयमा विष्णु माझीले कहीँ कतै बोलेकी छैनन् ।

यति मात्र हैन् विष्णु आफै सेक्रेट शैलीमा बस्न रुचाएको र राजीखुशीमै यस्तो जीवन विताइरहेको बताउनेहरुको पनि साङ्गीतिक क्षेत्रमा कमी रहेको छैन् । उनले प्राय उनकै श्रीमान सुन्दरमणिले लेखेको गीत गाउने गर्छिन् । पछिल्लो समय हिट भएको तिज गीत पनि उनकै श्रीमानले लेखेका हुन् । संगीत पनि उनले नै भरेका छन् ।

यहि तीजको गीत चर्चित भएसँगै फेरि विष्णु माझीलाई लिएर सांगीतिक क्षेत्रमा तरङ्ग पैदा भएको छ । विष्णु माझी कहाँ छिन ? के उनीसाच्चै श्रीमानको कब्जामा छिन? उनको गीत जसरी हिट भयो ,प्रश्नहरुले पनि टाउको उठाउन थाल्यो । विष्णु माझी गीत रेकर्डिङ गराउन जाँदा अनुहार छोपेको दृश्य पनि सामाजिक सञ्जालमा भाइरल नै भयो । त्यसैलाई देखाउँदै लगातार प्रश्न गर्नेहरु बढे । त्यसैको असरका कारण राष्ट्रिय मानवअधिकार आयोगले माझीको बारेमा चासो देखायो । विष्णु माझीको अवस्था बुझ्न आयोगले जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई निर्देशन दियो ।

जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई माझीको अवस्था बुझेर जानकारी दिन अह्राएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चापाकोटमा पुगेर विष्णु माझीको अवस्थाबारे जानकारी लियो। प्रहरीको सूचना अनुसार चापाकोट विष्णुको माइतीघर । तर, त्यहाँ पुग्दा प्रहरीले विष्णु माझीको पछिल्लो अवस्थाबारे केही पनि जानकारी पाउन सकेन। गायिका माझीका बाबुआमा एक वर्षअघि बितेको र त्यतिखेर पनि माझी माइतमा नआएको स्थानीयले प्रहरीलाई जानकारी गराए ।

उता विष्णुका श्रीमानको घर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापालाई पनि आयोगले सोध्यो तर उनले प्रहरीमा खोजी वा सम्पर्क गर्न कुनै निर्देशन नआएको बताए ।

यता लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बीसीले काठमाडौंमा उनी श्रीमानसँग बस्दै आएको जानकारी दिए । उनले भने, उहाँ काठमाडौंमा नै बस्नुहुन्छ । तर, कहाँ बस्नुहुन्छ थाहा हुँदैन, हामीले जानकारी पाए अनुसार कोठा फेर्दै बस्ने गर्नुभएको छ भन्ने छ । त्यस्तो सम्पर्क नै नहुने भेट्दै नभेटिने भन्ने चाहिँ होइन ।

पहिले पनि यस्तो कुरा आएकाले हामीले बुझेका थियौँ। उहाँ आफैँले यस्तो जीवन रोज्नु भएको हो अध्यक्ष बिसीले भने, बाहिर हल्ला भएजस्तो उहाँको जीवन छैन। उहाँ हाँसी खुशी हुनुहुन्छ ।

यसअघि गीत रिलिज हुँदा पनि उनीबारे यस्तै कहानीहरु सार्वजनिक हुँदै आएको हो । त्यसैले उनको जीवनलाई लिएर हुने टीकाटिप्पणी पनि नियमित आकस्मिकता बनिरहेका छन् । त्यसैको आधारमा यसपाला मानवअधिकार आयोग र प्रहरीले पनि चासो दिए । तर, जसरी चासो दिए त्यसरी सुल्ट्याउन भने सकेनन् ।