|  

धनुषाका पालिकाले ३ महिनामै खर्च गरे २२ करोड !

२८ भदौ, काठमाडौं ।  नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण फैलिएपछि २०७६ साल चैत ११ देखि गरिएको लकडाउनका तीन महिनामा नै धनुषाका स्थानीय तहले २२ करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औँ प्रतिवेदनले धनुषाका १८ स्थानीय तहले २२ करोडभन्दा बढी खर्च गरेको पाइएको हो।धनुषामा एउटा उपमहानगरपालिका, ११ वटा नगरपालिका र ६ वटा गाउँपालिकासहित १८ वटा स्थानीय तह रहेकोमा १८ वटै पालिकाले कोरोनाकालमा राहत उपलब्ध गराउने नाउँमा २२ करोड ४ लाख ७६ हजार ३ सय ५५ रुपैयाँ खर्च गरेको पाइएको हो। पालिकाहरुलले आर्थिक वर्ष २०७६/७७ को चैत देखि असारसम्ममा  क्वारेन्टिन खर्च, मास्क, स्यानिटाइजर, खानालगायतका शीर्षकमा सो रकम खर्च गरेको हो।

कोरोनाकालका तीन महिनामा सबैभन्दा बढी जनकपुरधाम उपमहानगरपालिकाले ३ करोड ५ लाख ७८ हजार ९ सय ३२ रुपैयाँ खर्च गरेको छ। जनकपुरधाम उपमहानगरले राहत वितरणको नाउँमा १ करोड ४६ लाख १६ हजार ४ सय ५० रुपैयाँ खर्च गरेको छ भने क्वारेन्टिन/होल्डिङ्ग सेन्टरबापत ६८ लाख ९१ हजार ५ सय ५९ रुपैयाँ खर्च गरेको छ।

त्यस्तै गणेशमान चारनाथ नगरपालिकाले २ करोड ३२ लाख ७२ हजार ६ सय ६४ रुपैयाँ कोरोनाको नाउँमा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। नगराईन नगरपालिकाले १ करोड ७९ लाख ६७ हजार १ सय ९२, सबैला नगरपालिकाले १ करोड ५७ लाख १५ हजार, मिथिला विहारीले १ करोड ४० लाख २९ हजार १ सय ३६, लक्ष्मिनिया गाउँपालिकाले १ करोड ३९ लाख ९१ हजार २ सय २ रुपैयाँ कोरोना महामारीको नाउँमा खर्च गरेको छ।

हंसपुर नगरपालिकाले आव २०७६/७७ मा १ करोड २३ लाख ६९ हजार ५ सय २९ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको हो। हंसपुर नगरपालिकाले १६ लाख भन्दा बढीको मास्क मात्र खरिद गरेको हो। नगरपालिकाले वैदेही कन्स्ट्रक्सन एन्ड सप्लायर्ससँग कपडाको मास्क खरिद गर्दा ३ लाख ७२ हजार ९ सय, ऋद्धिसिद्धि ट्रेडर्सबाट कपडाको मास्क खरिद गर्दा ४ लाख ९७ हजार २ सय, कबिर जेनरल अर्डर सप्लायर्ससँग ८५ हजार २ सय ५८, आदित्य इन्टरनेसनलसँग के एन ९५ मास्क खरिद वापत १ लाख ५४ हजार ५ सय ६०, वैदेही कन्स्ट्रक्सन एन्ड सप्लायर्ससँग पिपिई सेट, मास्क सेनिटाइजर खरिद गर्दा ३ लाख ४१ हजार ७ सय २० रुपैयाँ भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

कमला नगरपालिकाले आव २०७६/७७ मा १ करोड २३ लाख १५ हजार ७ सय ९५ रुपैयाँ कोरोना महामारीमा खर्च गरेको छ। त्यस्तै क्षीरेश्वरनाथ नगरपालिकाले १ करोड १५ लाख ५ सय ५५, विदेह नगरपालिकाले १ करोड १२ लाख ५२ हजार १३, शहिदनगर नगरपालिकाले १ करोड ३ लाख ७८ हजार २३, जनकनन्दिनी गाउँपालिकाले ९६ लाख ७६ हजार ७ सय ८९ रुपैयाँ खर्च गरेको पाइएको छ। 

यस्तै धनुषाधाम नगरपालिकाले ९६ लाख १ हजार ४ सय ६२, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाले ९४ लाख १९ हजार ७ सय २, धनौजी गाउँपालिकाले ५६ लाख ५० हजार ६ सय, औरही गाउँपालिकाले ५३ लाख ९५ हजार २ सय ५४, मिथिला नगरपालिकाले ५२ लाख ६७ हजार ११ र वटेश्वर गाउँपालिकाले कोरोना महामारीमा २० लाख ९५ हजार ४ सय ९६ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।