|  

विगत ४ वर्षमा सुदूरपश्चिममा ज्यान मार्ने उद्योगका घटना वृद्धि

२९ भदौ, काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा विगत ४ वर्षमा ज्यान मार्ने उद्योगका घटना बढेको पाइएको छ ।

सुदूरपश्चिम प्रहरी कार्यालय धनगढीको तथ्यांकअनुसार ४ वर्षको अवधिमा २ सय ८२ वटा जाहेरी ज्यान मार्ने उद्योगमा दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा ज्यान मार्ने उद्योग शीर्षकमा ४८ जाहेरी परेका थिए । यस्तै २०७५/७६ मा ७४,  २०७६/७७ मा ६९ र २०७७/७८ मा ९१ वटा जाहेरी ज्यान मार्ने उद्योगमा परेका छन् ।

चार वर्षको अवधिमा २ सय २४ कर्तव्य जानका जाहेरी परेका छन् । आर्थिक वर्ष २०७४/७५ मा यस प्रदेशमा ४९ जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै आव २०७५/७६ मा ५४, २०७६/७७ मा ५३ र २०७७/७८ मा ६८ वटा जाहेरी ज्यान मार्ने उद्योगमा परेका छन् ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-१२, दफा १८३ अनुसार कसैले कसैको ज्यान लिने उद्देश्यले त्यस्तो उद्योग गर्न नहुने व्यवस्था रहेको छ । ज्यान मार्ने उद्योग गरेको प्रमाणित भए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था उक्त दफामा छ ।