|  

अध्यादेशबाट प्रतिस्थापन विधेयक आउदैन् - अर्थमन्त्री शर्मा

२९ भदौ, काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले संसदबाट बजेट पास नभए केही दिन खर्च रोक्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । प्रतिस्थापन विधेयक पास भएन भने मुलुकको अर्थतन्त्र कसरी चल्छ? भन्ने पत्रकारको प्रश्नमा अर्थमन्त्री शर्माले सहमतिका लागि प्रयास भइरहेको र सहमति नभए प्रक्रिया र्पुयाएर विधेयक पास गर्ने जानकारी दिए ।

यस्तै अर्थमन्त्री शर्माले अध्यादेशबाट प्रतिस्थापन विधेयक नआउने पनि प्रष्ट पारे । आजको संसद बैठकबाट बजेटको प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने अर्थमन्त्री शर्माको प्रस्ताव प्रमुख प्रतिपक्षीको विरोधकाबीच संसदबाट पारित भएको छ ।

भोलि रातिदेखि जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेटको वैधानिकता सकिँदैछ । त्यस्तो अवस्थामा सरकारले प्रतिस्थापनलाई विरोधकै बीच अघि बढाएको हो । तर प्रतिस्थापन विधेयक अब असोज ४ गतेको बैठकमा मात्र छलफलका लागि अघि बढाइनेछ ।