|  

कोभिड प्रभावः ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्णरुपमा बन्द !

२ असोज, काठमाडौं । युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबालिकाहरुको पठन पाठनमा चर्को समस्या भएको बताएको छ ।

युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांक अनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन् । अनलाइन कक्षा पनि हुन सकेको छैन । अनलाइन कक्षा भइहाले पनि प्रभावकारी भएको छैन ।

यस्तै एक प्रतिवेदनमा युनिसेफले गएको १८ महिनायता नै विश्वका विभिन्न ६ देशका ७ करोड ७० लाख बालबालिका घरमै बस्नुपरेको र उनीहरुका विद्यालय पूर्ण रुपमा बन्द भएको देखिएको छ । ती ६ देशमा बंगलादेश, कुवेत, पानामा, फिलिपिन्स, साउदी अरेबिया र भेनेजुएला रहेका छन् । ती देशमा कोभिड १९ को समस्या व्यापक बन्दै गएका कारण उनीहरु विद्यालय जान पाएका छैनन् । 

त्यसैगरी, विश्वका अरु ११ देशका १३ करोड १० लाख बालबालिकाले विद्यालय जान त पाएका छन् तर उनीहरुले पनि महामारी सुरु भएपछिको १८ महिनामा ६ महिना पनि नियमित रुपमा पढ्न पाएका छैनन् ।

त्यस्तै विश्वका अरु करिब २७ प्रतिशत देशले मात्र विद्यालयहरु पूर्ण रुपमा वा आंशिक रुपमा खोल्ने र पठनपाठन गरेको देखिएको छ । युनिसेफले कोरोना भााइरसका कारण विश्वका बालबालिकाको अध्ययनमा परेको समस्याका विषयमा गरेको अनुसन्धानबाट यस्तो देखिएको हो ।