|  

यस्ता छन् नेपालको संविधानको मुलभुत विशेषताहरु 

३ असोज, काठमाण्डौ । राज्य सञ्चालनको मुल कानुनको रुपमा रहेको सहमतीय लिखित दस्तावेज नै संविधान हो । यसले, राज्य सञ्चालनका अंग, निकाय, नीति निर्देशक सिद्धान्त, राज्यको संरचना एवम् दायित्व किटानी गर्नका साथै नागरिक र सरकारबीचको सम्बन्ध र सीमा निर्धारण गरि सरकारलाई शक्ति र नागरिकलाई अधिकार सम्पन्न बनाउँदछ ।

संविधान कानुनको पनि सर्वोच्च कानुन हो । यससँग बाझिएको कानुन स्वातः अमान्य हुन्छ । साढे छ दशक लामो समयदेखिको नेपाली जनताको इच्छा र चाहना अनुसार संविधान सभाबाट निर्माण भई वि.सं.२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो ।

नेपालको संविधानले आत्मसात गरेका मुलभुत विशेषताहरू  
संविधानसभाबाट निर्माण भई जारी गरिएको नेपालको पहिलो संविधान हो । यस बृहत संविधानमा ३५ भाग, ३०८ धारा र ९ अनुसुची रहेको छ । करिब ८ सय ५५ नेपाली जनताको प्रतिनिधित्व, सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित, बुबाको साथ साथै आमाको नामबाट पनि नागरिकता प्राप्त गर्न सकिने व्यवस्था, गैरअवसीय नेपाली नागरिकता सम्बन्धि व्यवस्था रहेको छ । त्यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था, स्पष्ट परिभाषा सहितको धर्म निरपेक्ष राष्ट्र, मौलिक हकको विस्तार एवम् नागरिकले पालना गर्नुपर्ने कर्तव्य पनि उल्लेख गरिएको छ ।

राज्यको नीति निर्देशक सिद्धान्त एवम् दायित्व स्पष्ट किटानी गरिएको, पुर्ण प्रेस स्वतन्त्रता ,आवधिक निर्वाचन तथा वालिग मताधिकार, संसदको दुई तिहाइ बहुमतद्धारा संविधान संशोधन हुने व्यवस्था, संवैधानिक अंगहरूको विस्तार गरिएको छ ।

प्रतिनिधि सभा , राष्ट्रिय सभा गरि केन्द्रमा दुई सदनात्मक संसद् र प्रदेशमा एक सदनात्मक प्रदेश सभाको व्यवस्था पनि गरिएको छ । नेपाल संविधानमा अन्य थुप्रै विषेशता रहेका छन् । यस्ता विशेषतायुक्त नेपालको वर्तमान संविधान हाल कार्यान्वयनको क्रममा रहेको छ । यदि यो संविधानको सहि तथा प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेमा सम्पूर्ण आर्थिक, सामाजिक ,धर्मिक ,संस्कृतिक एवम् जातीय विभेदको अन्त्य भई सम्मुन्नत समाज र समृद्धि राष्ट्र निर्माण हुन सक्छ ।

संविधान जारी भएको सातौँ वर्ष
संविधान जारी भएको आज सात वर्ष पुगेको छ । वि.सं. २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइन्छ । यसपटक सातौँ संविधान दिवस नेपालीहरुले मनाइरहेका छन् । यसैअवसरमा विभिन्न देशका प्रमुखहरुले शुभकामना समेत दिइरहेका छन् ।

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँरहेका छन् । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीका बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत जारी गरिएको संविधानको एकअर्कामा अन्यानोश्रित सम्बन्ध रहिआएको छ ।

दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । त्यस्तै सरकारले सवै नेपालीलाई घर–घरमा दिपावली गरि नेपालको झण्डा फहराएर विशेष हर्षोल्लासका साथ संविधान दिवस मनाउन पनि आग्रह गरेको छ ।

तर दिवस मनाइरहँदा नागरिकले भने संविधानमा उल्लेख भएको अधिकार पाउन सकेका छैनन् । सिंहदरबारमा रहेको शक्तिलाई प्रदेश र पालिकासम्म विस्तार गर्ने तथा शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्यान्नलाई मौलिक हक स्थापित गर्ने गरी संविधान जारी गरे पनि त्यो कागजमा नै सीमित भएको छ ।