|  

गोरखामा  स्क्रब टाइफस रोग फेला,२५ जना संक्रमित

३ असोज काठमाडौं । गोरखाको आरुघाट गाउँपालिकामा स्क्रब टाइफस रोग फेला परेको छ । किर्ना र उपियाँ जातको परजीवि कीराले टोकेर लाग्ने उक्त रोगबाट त्यहाँका केही स्थानीयहरु बिरामी परेका हुन् ।

स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारीअनुसार आरुघाट गाउँपालिकामा २५ जनामा उक्त रोग फेलापरेको हो । ‘हामीलाई भएको रिपोर्टिङअनुसार २५ जनामा संक्रमण देखिएको छ,’ स्वास्थ्य कार्यालयकी प्रमुख विद्या तमाङले भने, ‘अहिलेसम्म जटिल समस्या देखिएको छैन । आरुघाटकै स्वास्थ्य चौकीमा उहाँहरुले उपचार गराएको छन् ।’

साउनदेखि अहिलेसम्म २५ जनामा स्क्रब टाइफस फेला परेको आरुघाट गाउँपालिकाले जनाएको छ । अहिले नियन्त्रणउन्मुख रहेको स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले जानकारी दिए । ‘केही विरामीमा जति उपचार गरेपनि ज्वरो निको भएन । अनि हामीले सबै चेकजाँच गर्दा स्क्रब टाइफसको किट पनि ल्याएर चेक ग¥यौं,’ श्रेष्ठले भन्नुभयो, ‘अनि उहाँहरुको रिपोर्ट पोजेटिभ देखियो ।’

अहिले पनि ज्वरोका विरामी धेरै रहेको आरुचनौटे प्राथमिक केन्द्र आरुघाटका चिकित्सक कृष्णहरि क्षेष्ठले बताए । कतिपय बिरामी परीक्षणका लागि नआएका कारण तथ्याङ्क एकिन गर्न समस्या भएको उनको भनाई छ । ‘तिजताका ह्वातै बढ्यो, एकैचोटी दश बाह्र जनामा पोजेटिभ देखियो,’ उनले भन्नुभयो, ‘अहिले घटेको छ, तर बिरामी अझै छन, हिजोआज पनि केही थपिएका छन्, डाटा जिल्ला पठाउन बाँकी छ ।’

अहिले पनि निरन्तर परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । परीक्षणको दायरा बढाउन दुई बक्स किट पनि मगाइएको उहाँले बताउनुभयो । कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाइ र पखाला लाग्ने, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने उहाँले बताए।

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । उनकाअनुसार स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सो लगायतमा संक्रमण र कहिलेकाहीँ बहुअङ्ग विकारको अवस्था पनि सिर्जना हुनसक्ने चिकित्सकको भनाइ छ ।

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरेमा रोग निको हुने चिकित्सकहरुले बताए । उपचारमा लापरवाही गरे गम्भीर समस्या आउनसक्ने पनि उनीहरुको भनाइ छ ।