|  

युभेन्टस र मिलानबीच बराबरी

४ असोज, काठमाडौँ । इटालीको सिरी ‘ए’मा आइतबार युभेन्टस र एसी मिलानले १–१ को बराबरी खेलेका छन् । यो सिजनमा युभेन्टस घरेलु लिगमा अझै जितविहीन रहेको छ । अल्भारो मोराटाको गोलमा युभेन्टसले घरेलु मैदानमा अग्रता लिएको थियो ।

मिलानका लागि एन्टे रेबिचले बराबरी गोल फर्काए । यो नतिजापछि मिलान १० अंकसाथ लिग तालिकाको दोस्रो स्थानमा रह्यो । इन्टर मिलान समान अंकसाथ शीर्ष स्थानमा छ ।

युभेन्टस भने चार खेलबाट दुई अंक मात्र जोडेर रेलिगेसन क्षेत्रमा छ । आइतबारको अर्को खेलमा एएस रोमा भेरोनासँग ३–२ ले पराजित रह्यो ।