|  

आजदेखि देशव्यापी रुपमा भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै

४ असोज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि लगातार ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ।

अहिले पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ। चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारील जानकारी दिए।

ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइने उनले बताए।

काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई खोप दिइने उनले जानकारी दिए। यस्तै १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप दिइनेछ।

काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइनेछ।

बाँकी जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिने तयारी मन्त्रालयले गरेको छ।