|  

कालोसूचीमा परेका ठेकदारलाई  पदक

४ असोज, काठमाडौँ । यो वर्ष सरकारले ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलङ्कार र विभूषणबाट सम्मान गर्ने भएको छ । सरकारले संविधान दिवसको अवसर पारेर आइतबार मानपदवी, अलङ्कार र विभूषण प्राप्त गर्ने व्यक्तिको सूची सार्वजनिक गरेको हो । यसपटक पनि पदक वितरणको मामिलामा सरकार यसअघिका वर्षहरूमा झैं विवादमा फसेको छ ।

सरकारले सार्वजनिक गरेको पदक प्राप्त गर्ने व्यक्तिको सूचीमा कालोसूचीमा परेका एक व्यवसायीको नाम पनि परेको छ । सरकारबाट मल ल्याउने ठेक्का पाएर पनि मल नल्याएको आरोपमा कालोसूचीमा परेको होनिका मल्टिपल प्राइभेट लिमिटेडका सञ्चालक हुमनाथ कोइरालाको नाम पनि परेको छ । ठेकेदार कोइरालाको नाम प्रबल जनसेवाश्री विभूषण प्राप्त गर्ने व्यक्तिको सूचीमा परेकोे छ । होनिका मल्टिपललाई गत साल भदौमा कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो ।

यसवर्ष पदक पाउने व्यक्तिको नाम गत असार २० गतेभित्र सिफारिस गर्नुपर्ने भए तापनि असारको अन्तिम सातामा आएको देउवा नेतृत्वको सरकारले आफूखुसी पदक वितरण गरेको आरोप लागेको छ । समाज र राष्ट्रका लागि योगदान गरेका व्यक्तिभन्दा पनि दलीय आधारमा पदक वितरण गरिएको भन्दै पदक पाउने केही व्यक्तिहरूले उक्त पदक नलिने घोषणा नै गरेका छन् ।

पदक प्राप्त गर्ने व्यक्तिको नाम सार्वजनिक भएपछि पत्रकारहरू हरिबहादुर थापा, नारायण अमृत, कृष्णज्वाला देवकोटा र कार्टुनिस्ट रविन सायमीले सरकारले घोषणा गरेको पदक नलिने घोषणा गर्नुभएको छ ।

पदक पाउनुअघि राज्यले सम्बन्धित व्यक्तिलाई सोध्ने चलन भए पनि यसपटक भने आफूखुसी पदकका लागि नाम राखेको भन्दै पत्रकार थापाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यसअघि पनि मलाई पदकका लागि सोधीखोेजी गरेको थियो । मैले पटक–पकट अस्वीकार गरेको थिएँ । तर, यसपटक भने मलाई सोध्दै नसोधी पदक पाउनेको लिस्टमा मेरो नाम राखिएछ, मैले यसलाई अस्वीकार गर्ने निर्णय गरेको छु ।’ नेपाल समाचारपत्र दैनिकले लेखेको छ।