|  

संखुवासभा हत्याकाण्डमा संलग्न थप ४ जना पक्राउ

४ असोज, काठमाण्डौ । संखुवासभामा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा थप चार जना पक्राउ परेका छन् ।

पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीको बयानका आधारमा थप चार जनालाई पक्राउ गरिएको संघीय प्रहरी इकाइ कार्यालय धरानले जनाएको छ । पक्राउ पर्नेमा ४७ वर्षीय खड्गबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की र अर्का एक जना छन् ।

पक्राउ पर्नेमा लोकबहादुरका भाइ र बुवा समेत रहेका छन् । आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ । यसअघि प्रहरीले २६ वर्षीय लोकबहादुर कार्कीलाई मुख्य आरोपित भनी सार्वजनिक गरेको थियो । तर, अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिको पनि संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ गरिएको बताइएको छ ।

घटनास्थलमा कसैले समातेको, कसैले हिर्काएको, कसैले मुख थुनेको साबिती बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा भदौ २१ गते ६ जनाको सामूहिक हत्या गरिएको थियो । तेजबहादुर कार्की, उनकी आमा पार्वता कार्की, श्रीमती कमला, बुहारी रञ्जना कार्की, नाति विपीन कार्की र गोमा कार्कीको चिर्पटले हिर्काएर हत्या गरिएको थियो ।