|  

जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डको जित

४ असोज, काठमाडौं ।  जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा डर्टमण्डले युनियन बर्लिनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । एर्लिङ हालाण्डले दुई गोल गरेपछि डर्टमण्डले बर्लिनलाई हराएको हो ।

घरेलु मैदानमा दशौँ मिनेटमा राफायल गुइरेरियोले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । खेलको २४ औं मिनेटमा हालाण्डले डर्टमण्डको अग्रता दोब्बर बनाए ।

खेलको ५२ औं मिनेटमा मार्भिनले आत्मघाती गोल गरेपछि डर्टमण्ड ३-० ले अघि रह्यो ।

५७ औं मिनेटमा म्याक्सले गोल गर्दै बर्लिनलाई ३-१ को स्थितिमा ल्याए । खेलको ८१ औं मिनेटमा एन्ड्रीयासले गोल गर्दै बर्लिनलाई ३-२ को स्थितिमा ल्याए ।

तर, ८३ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ४-२ को जित दिलाए । जितसँगै डर्टमण्डले ५ खेलमा १२ अंक जोडेको छ ।

डर्टमण्ड दोस्रो स्थानमा रहेको छ । बर्लिन ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।