|  

काली नदी संरक्षणका लागि पोस्टर कविता आन्दोलन

४ असोज काठमाडौं । काली गण्डकी बचाऔँ अभियानले कविता शृङ्खला ‘नदी सप्तक’ सुरुआत गरेको छ। अभियानले काली गण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरुपमा सम्प्रेषण गर्न थालेको हो।

अभियान कालीगण्डकी नदीमाथि भइरहको अवैध दोहनविरुद्ध सङ्घर्षरत छ। राष्ट्रकवि माधवप्रसाद घिमिरेले वि।सं। २०१५ मा लेखेको कविता ‘काली गण्डकी’बाट ‘नदी सप्तक’ कविता शृङ्खला सुरुवात गरिएको अभियानकर्मी आरके अदिप्त गिरीले बताए। मन्दक्रान्ता छन्दमा लेखिएको उक्त कवितामा काली गण्डकीको वैभव र महिमा वर्णन छ। शनिबारदेखि सुरु भएको कविता शृङ्खलामा १०० भन्दा बढी कविका रचना समावेश हुने अभियानले जनाएको छ।

यसअघि काली गण्डकी संरक्षणमा सिर्जनामार्फत ऐक्यबद्धता जनाउन अभियानले देशभरबाट कविताको आह्वान गरेको थियो। प्राप्त कवितालाई डिजिटल माध्यमको सहारामा जनस्तरमा प्रसार गरिने अभियानकर्मी गिरीको भनाइ छ। काली गण्डकी नदीमाथि भइरहेको चरम दोहन रोक्न अभियानले रचनात्मक तवरले दबाब बढाइरहेको छ।

कविका जीवन्त रचनाले नदीसहित प्राकृतिक सम्पदा संरक्षणको मुद्दालाई सिर्जनशील ढङ्गले मुखरित गर्ने अभियानको विश्वास छ। ‘कविताको आफ्नै शक्ति छ, यो कला र भावनाको संयोग मात्र होइन, कविता जागरण हो, आन्दोलन हो,’ अभियानकर्मी गिरीले भने। मुलुकका दिग्गज कवि, लेखकका आवाजलाई राज्ययन्त्र र दोहनकारीसम्म पुर्‍याउनु ‘नदी सप्तक’ कविता शृङ्खलाको उद्देश्य रहेको उनको भनाइ छ।

कालीगण्डकी नदीमाथि चलिरहेको विनाशलीलाको विरोधमा हरेक सचेत नागरिक जुर्मुराउनुपर्ने स्थिति आएको अभियानले जनाएको छ। हरेकखाले परिवर्तनका क्षणमा कवि, लेखकका योगदानको गौरवपूर्ण स्थान रहेको भन्दै अभियानकर्मी गिरीले कालीगण्डकी संरक्षणमा जोडिएर सर्जकले अर्को महत्वपूर्ण अभिभारा निभाएको टिप्पणी गरे।

यही अभियानमा समर्थन जनाएर प्रसिद्ध कवि श्रवण मुकारुङले रचेको ‘ए कालीगण्डकी’ बोलको गीत अहिले ‘रेकर्डिङ’को चरणमा छ। मुकारुङकै सङ्गीत रहेको उक्त गीतमा गायक कर्ण दासले स्वर दिँदै छन्।

देशभरका प्रतिनिधि स्रष्टाका काली गण्डकी पक्षधर कवितालाई पछि ‘नदी सप्तक’ कृतिमा संग्रहित गर्ने योजना अभियानले बनाएको छ।

काली गण्डकी संरक्षणमाथि लेखिएका कविता, गीत बौद्धिक सम्पत्तिका रुपमा भावी पुस्तासम्म बाँचिरहने अभियानकर्मी गिरीले बताए। काली गण्डकी नदीले बेहोरेको सङ्कटलाई बाहिर ल्याउन र अभियानप्रति जनमत बटुल्न काव्यको सहारा लिनुपरेको जनाइएको छ।

यहाँका नदी र पर्यावरणप्रेमी स्वयंसेवी युवाको पहलमा अभियान अगाडि बढिरहेको छ। अभियानले बालुवा, गिटी उत्खननका नाममा कालीगण्डकीमाथि चलिरहेको दोहनको चक्र सबै मिलेर तोड्नुपर्ने बताउँदै आएको छ। 

यथाशक्य चाँडो नदीलाई प्राकृतिक लयमा नफर्काउने हो भने कालीगण्डकीको अस्तित्व नै नामेट हुने अभियानकर्मीको तर्क छ। पारिस्थितिक प्रणालीमै धक्का पुग्नेगरी मनपरी किसिमबाट भइरहेको दोहनले मानव जाति र प्रकृतिमाथि सङ्कट निम्ताइरहेको उनीहरु बताउँछन्। गिटी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने, ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने अभियानकर्मी गिरीको भनाइ छ। 

धार्मिक, सांस्कृतिक, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि कालीगण्डकी नदी जोडिएको छ। ठूला उपकरणको सहायतामा भइरहेको उत्खननले नदीलाई प्राकृतिक स्वरुपमा बिघ्नबाधा सिर्जना गरिरहेको छ। राज्यको उचित र कठोर नीति नहुँदाको फाइदा उठाउँदै मनपरी ढङ्गले काली गण्डकीमाथि दोहनको चक्र चलिरहेको छ।

दोहनमा राज्य संयन्त्रकै संरक्षण रहेको अभियानकर्मीको आरोप छ। विश्वमै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ। हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकी देशको मध्य भागको प्रमुख नदी प्रणाली हो।

मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलले यसको धार्मिक महत्व एवं साँस्कृतिक पाटोलाई दर्शाउँछ। कालीगण्डकी सभ्यता बोकेको नदी हो।