|  

ओलीलाई नेपालको कटाक्ष, ‘पिलो निचोरिएर आनन्द लिएको मान्छे कराको किन’ ?

४ असोज, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

आज पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन् । उनले प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पनि आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरूलाई धन्यवाद समेत व्यक्त गरे ।

आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन नेता नेपालले आग्रह समेत गरे । अध्यक्ष नेपालले एमालेबाट आफूहरू चोइटिएर हाइसन्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै हाइसन्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुर्पयो भन्ने प्रश्न समेत गरे । 
पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनुपरेको भन्ने पनि उनले प्रश्न गरे ।

उनले सर्वोच्चमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरू अरुको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसदमा उफ्रिएको टिप्पणी समेत गरे ।