|  

रिसले सम्बन्धमा पार्छ यस्तो प्रभाव !

११ असोज, काठमाण्डौ । रिस अर्थात क्रोध । यो एउटा मानवीय अवगुण हो । यो कस्तो खालको स्वभाव हो ? यसलाई कसरी हामीले नियन्त्रण गर्न सक्छौ भन्ने विषयमा हामी चर्चा गरौँ ।

रिस अर्थात क्रोध
मानिसहरु आफुले भनेको जस्तो भएन भने अर्थात इगो हट भयो भने रिसाउने गर्दछन् । रिसाउने थुप्रै कारण भएपनि प्राय मानिसहरु आफुलाई अपमान फिल हुँदा रिसाउने गर्दछन् । अनि बोल्न छोड्छन् । जब मानिस बोल्न छाड्छ नि तब उसको मन भने बोल्न सुरु गर्दछ ।

हामी सँधै नजिकका आफन्तसँग रिसाउने गर्दछौँ । रिस उठेपछि हामी एक अर्कासँग बोलचाल बन्द गर्छौँ त्यसपछि झन एकआपसमा टकराब पैदा हुन्छ । बोलचाल बन्द हुनु भनेको राम्रो कुरा होइन् किनकी रिसाउनु भनेको मनको कमजोरी हो । रिसाएपछि मनमा चल्ने नकारात्मक तुफान झन बढ्न थाल्छ । 

हामी कसैसँग रिसाउँदा अगाडीका कुराहरु ल्याउने गर्दछौ । ‘यसले पहिलापनि यस्तै गरेको थियो, यो यस्तो खालको मान्छे हो’ भन्दै उसका बारेमा झन नकारात्मक कुरा गर्न थाल्दछौँ । जसका कारण सम्वन्ध झन विग्रदै जान्छ ।  अनि माहोल शुन्य जस्तै बन्छ । कहिले मानिसलाई धेरै बोलेर गाह्रो पर्छ भने कहिले नबोलेर । त्यसैले हामीले मनलाई नियन्त्रणमा राख्नु जरुरी छ । 

रिसलाई हामीले कसरी नियन्त्रण गर्ने ?

रिसले मानिसलाई मुर्ख र अन्धो बनाउँछ । कहिलेकाँही हामी बोलेर रिसाउँछौ भने कहिलेकाही नबोलि नबोलि । हाम्रो मनमा शंका र गलत अनुमान भयो भने हामी मौन तरिकाले रिसाउने गर्दछौँ । भनिन्छ, ‘रिसमा आँखा देखिदैन्’ तर जव हामी रिसाइसकेपछि महशुस गर्छौ नि तब रिसलाई ब्यवस्थापन गर्न सकिन्छ । सम्वादको बातावरण बनाएर हरेक मानिस समझदार हुनु जरुरी छ । मानिस समझदार बन्यो भने रिसलाई ब्यवस्थापन गर्न सकिन्छ ।

भनिन्छ नी, रिसाउँदा कसले बेद पढ्छ र ? रिस भनेको आइहाल्छ, को पो छ र ? नरिसाउने । यस्तो कुरा मनमा राख्नु हुन्न । हामीले यस कुरालाई ध्यान नदिइ रिसाउने बातावरणबाट आफु कसरी पाखा लाग्ने भन्ने सोँच्नुपर्छ ।

सम्बन्धमा रिसको प्रभाव

रिस भनेको जति लामो समयसम्म गर्यो त्यति नै बढ्दै छ । जसका कारण हामीभित्रको सकारात्मक शक्ति पनि नष्ट हुदै जान्छ । मान्छे रिसाउँदा धेरै समय रिसाउदैन्, ५ मिनेट अथवा १० मिनेट । नजिकको सम्बन्धमा हामीले के कुरा सोच्नुपर्छ भने, रिसाएको पनि धेरैबेर हैन्, केही परेर रिसायो होला भनेर बोलाउनुपर्दछ । ‘उ चाँही रिसाउने मैले मात्र सधै किन फकाउने’ भनेर नबोलाइ नबस्ने । हामी जनि सक्छौ उति नै झुक्नु राम्रो हुन्छ । जो झुक्छ त्यसमा बल बढ्दै जान्छ, जो झुक्दैन उसमा अभिमान थपिदै जान्छ । त्यसैले जति सक्छौ आफै झुँकौ, जति सक्छौँ आफुसँग रुष्ट मान्छेलाई फकाँउ । 

कहिलेकाँही सम्बन्ध विगार्न तेस्रोे पक्षको हाबी हुनेगर्दछ । कुनै ब्यक्ति ब्यक्तिगत स्वार्थ र इष्र्याका कारण भ्रम फैलाएर सम्बन्ध विगार्न लागि पर्दछन् । त्यसैले हरेक सम्बन्धमा विश्वास र घनिष्टता हुन आबश्यक छ, जसका कारण बाह्य कुराले सम्बन्ध विग्रन पाउदैन् ।

क्रोध निष्कने द्धार भनेको मन, दृष्टि, बोली र ब्यवहार हो । त्यसैले नकारात्मक विचार मनमा आउने वित्तिकै त्यसलाई हटाउने कोशिष गर्नुपर्छ । जब मनमा क्रोधको भावना आउन थाल्छ त्यतिबेला नै त्यसलाई सकारात्मक विचार राखेर आफ्नो भावनालाई परिवर्तन गर्नुपर्दछ ।