२१ असोज, काठमाडौं । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनीता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएकी छन् ।
बिहीवार (आज) पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तह सम्मको शिक्षा जिवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्नेगरी शिक्षा नीति बनाउनुपर्ने उनले बताइन् ।
स्थानीय तहहरुले आफ्नो तहको स्रोत र साधन प्रयोगगरी स्थानीय आवश्यकतालाई ध्यान दिई विषय बनाउनुपर्नेमा उनले जोड दिइन् । विश्वविद्यालयको शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त बनाउँदै प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरिन् ।
उनले विद्यार्थी संगठनहरुले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताइन् । समय फेरिएको उल्लेख गर्दै उनले परिवर्तित समयानुकुल संगठनले भुमिका र कार्यशैली बदल्नुपर्ने बताइन् ।
पछिल्ला दिनहरुमा राष्ट्रिय राजनीतिमा देखा परेका उतारचढावका कारण विद्यार्थी संगठनहरु ओझेल परेजस्तो देखिएको भन्दै उनले अब भने संगठनको कामलाई व्यवस्थित गरिने उनले बताइन् ।
नेकपा(माओवादी केन्द्र) निकट अनेरास्ववियु(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले देशको मुख्य समस्या राजनीतिमा भएकाले विगतमा विद्यार्थी संगठनहरु राजनीतिक विषयमा केन्द्रीत हुनुपरेको उल्लेख गरे । तर आगामी दिनमा भने रचनात्मक र सिर्जनात्मक ढंगले शैक्षिक मुद्धामा केन्द्रीत हुने उनले बताए ।
अध्यक्ष सिंहले आफ्नो संगठनलाई वैचारिक र राजनीतिक रुपले बलियो बनाउनका लागि पाठ्यक्रम नै बनाएर प्रशिक्षण दिने तयारी गरिरहेको बताए ।
उनले अखिल(क्रान्तिकारी)को विघटित पदाधिकारी, प्रदेश पदाधिकारी र विघटित आयोजक समितिसँगको छलफल र समन्वयमै केन्द्रीय कमिटीलाई पूर्णता दिने बताए ।