|  

उल्लासले छाएको दशैँको माहोल र महत्व !

निशा कार्की, 
२४ असोज, काठमाण्डौं ।
नेपालीहरुको महानपर्व बडादशैँ हरेक नेपालीको घर आँगनमा आइसकेको छ । सहर बजार विस्तारै सुनसान हुँदै गएका छन् भने गाउँघर दशैँको माहोलले धपक्कै बलेका छन् । कामको शिलशिलमा होस् वा अन्य कारणबस देश बाहिर तथा गाउँ छोडेका युवाहरु घर फकिने क्रम जारी छ  । घर–घरमा दशैँसँगै सबैको ओठमा मुस्कान र मनमा हर्ष छाइरहेको छ ।

घर आँगन चटक्क सिँगारिएका छन् । चौतारीमा बसेर युवाहरु पिङ हालिरहेका छन् । चंगाजस्तै सबैको मन उडिरहेको छ । त्यतिमात्र हैन्, दशैँको विदा लिएर गाउँ फर्केका लाहुरेहरुको सान त झन छुट्टै छ । उनीहरुलाई गाउँबाट पाएको सम्मान र स्वागतले दंग बनाएको छ ।

हरेक घरका केटाकेटीहरु दशैँको लुगा लगाएर साथीहरुलाई आफ्नो लुगा देखाउन व्यस्त छन् । नयाँ लुगा लगाएर मामा घर जाने पर्खाइमा रहेका उनीहरुलाई देख्दा दशैँमा सवैभन्दा बढी खुसी त केटाकेटीहरु नै देखिन्छन् । रमाईलो र खुशियालीका साथ मनाईने दशैँ केवल रमाईलोमा मात्रै सिमित छैन । यसको सामाजिक, धार्मिक, आध्यात्मिक कोणबाट अन्त्यन्त महत्व छ ।

दशैँको महत्व

नेपालीहरुको महान चाड बडादशैँलाई दशैँ, विजया दशमी, दशहरा र आयुध–पूजाको नामले चिनिन्छ । हरेक वर्ष आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मानिने पर्व वा उत्सव नै दशैँ हो । यो नेपालीहरुको सवैभन्दा ठूलो राष्ट्रिय पर्व पनि हो । 
यो खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फुलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । त्यसमा पनि विजयादशमीलाई भने मुख्य दिन मानिन्छ ।

दशैँलाई असत्य माथि सत्यको जितको रुपमा मनाइने पर्वको रुपमा हेरिन्छ । भगवतिले दानवी शक्तिमाथि र भगवान रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा यो पर्व मनाउन सुरु गरिएको हो । दशैमा हिन्दुधर्मकी शक्तिस्वरुपा देवी नवदुर्गाको विभिन्न नौ वटा रुपलाई पुजा गरिन्छ । देवीको नौ रुप शैलीपुत्री, ब्रम्हाचारणी, चन्द्रघण्टा,कुशमन्डा, स्कन्दमाता, कात्यायनी,कालरात्री, महागौरी र सिद्धिधात्रीको आश्विन शुक्लपक्ष प्रतिपदाका दिनदेखि क्रमशः एक एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ । नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशिर्वाद थापेर दशै मनाइन्छ ।

दशैँको टीका, जमरा र दक्षिणा
दशैँमा आफुभन्दा ठूला मान्यजन र आफन्तबाट आशिर्वाद लिन निधारमा टिका थापिन्छ । यसरी मान्यजनले आशिष दिदै लगाइदिने टिका र जमराको निकै अर्थपूर्ण महत्व छ । गाईको दुधको दहि, चिनी, चामल र रातो रंगको मिश्रण गरेर  बनाइएको टिका निधारको मध्यभागमा लगाइन्छ  । यसको अर्थ ठुलावडा, मान्यजनले हामीलाई धन, बुद्धि र स्वास्थ्य सबैकुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेको हो । टिकासँगै घटस्थापनाको दिन राखेको जौको जमरा पनि लगाइदिने गरिन्छ ।

रातो र सेतो टिका तथा जमरालाई शान्ती एवम् समृद्धिको प्रतिक पनि मानिन्छ । त्यतिमात्र हैन्, विजयादशमीको दिन आ–आफ्नो गच्छेले भ्याए अनुसार मान्यजनबाट टिका ग्रहण गरिसकेपछि दक्षिणा दिने चलन पनि छ । सुख, शान्ती र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु भनेको लक्ष्मीलाई भित्र्याउनु सरह नै हो भन्ने विश्वास पनि रहि आएको छ ।

हरेक चाँडपर्वहरुले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछन् । हर्ष, उल्लासका साथ आउने र मनाउँने चाडपर्वले छुट्टै रौनकता ल्याइदिन्छ । टाढा–टाढा भएका आफ्ना साथीभाइ, आफन्तजनसँग भेटघाट हुने बातावरण पर्वले जुटाइदिन्छ । त्यसैले नेपालीहरुको हरेक पर्वको बेग्लै नै मज्जा छ । तर पर्व मनाउँदा हामीले त्यसको वास्तविक मुल्य र यर्थाथ बुझेर निष्ठावान तरिकाले मनाउँनुपर्छ भन्ने कुराको हेक्का भने पक्कै पनि राख्नुपर्नेछ । सबैलाई वडादशैको हार्दिक मंगलमय शुमकामना ।