|  

महिला शिक्षकको अवस्था !

२६ असोज, काठमाडौं । धादिङको कल्लेरी प्राथमिक तहमा शिक्षा सेवामा प्रवेश गरेकी कमला तुलाधरको २०४३ सालमा विवाह भयो।

२०४५ सालमा बच्चा हुर्काउँदै उनले पढाइलाई ‘प्राइभेट’बाटै निरन्तरता दिइन्। कलेजको मुखै नदेखेकी कमला २०४७ सालमै प्रावि तहमा स्थायी भइन्। घरपरिवार, बालबच्चा सम्हाल्दै २०५६ सालमा बिए र एकवर्षे बिएड उत्तीर्ण गरेकी कमलाले २०६५ सालमा आफूलाई थप अपग्रेड गरी प्राइभेटबाटै एमएड पनि पूरा गरिन्। योग्यता पुगे पनि उनी हालसम्म माध्यमिक शिक्षक बन्न सकेकी छैनन्।

५४ वर्षीया कमला नेपाल शिक्षक महासंघकी पहिलो महिला अध्यक्ष हुन्। शिक्षा सेवामा प्रवेश गरेकी उनी ३८ वर्ष सेवा अवधि पूरा गरिसक्दा पनि निम्न माध्यमिक तहको शिक्षकमा मात्र सीमित हुन पुगिन्। ‘कमजोर शिक्षा नीतिकै कारण योग्यता हुँदाहुँदै मैले माध्यमिक तहमा आँट गर्न सकिनँ,’ अध्यक्ष कमलाले अनुभव सुनाइन्, ‘शिक्षा ऐनमा शिक्षकको हकमा ग्रेड बढुवाको मात्रै व्यवस्था छ, निजामतीमा जस्तो तह बढुवाको व्यवस्था छैन।’ २०६३ सालमा बल्ल आँट गरेर खुलाबाटै निमाविमा स्थायी भएको उनले जानकारी दिइन्। ‘२०७३ सालमा श्रेणी बढुवा भयो। माविमा खुलाबाट थुप्रै चुनौती थपिने भएकाले लड्ने आँट गर्न सकिनँ,’ उनले भनिन्।

ललितपुरमा रहेको संस्थागत विद्यालय आइजे पायोनियरमा कार्यरत माध्यमिक तहकी शिक्षक विमला शाह विज्ञान विषय पढाउँछिन्। उक्त विद्यालयमा कार्यरत अन्य शिक्षकभन्दा कुनै हिसाबले पनि उनी कम क्षमताकी छैनन्। तर, सोही विद्यालयमा पुरुष शिक्षकभन्दा कम तलबमा उनले काम गर्नुपरेको छ। उनी त्यस विद्यालयमा १४ वर्षदेखि माध्यमिक तहमा विज्ञान विषयकी शिक्षक हुन्। ‘तर, हालसम्म मैले नियुक्तिपत्रसमेत पाएकी छैन,’ विमलाले  भनिन्, ‘संस्थागत विद्यालयमा न्यून तलबका कारण मनोबल बढेको छैन। शिक्षण पेसामा महिला र पुरुषको उत्तिकै महत्व हुन्छ तर तलब भने एउटै तहमा पनि फरकफरक हुन्छ।’ उनले थपिन्, ‘सेवासुविधा पनि फरक हुन्छ। यही कारण माथिल्लो तहमा महिला शिक्षक पुग्नै सक्दैनन्।’

तह बढ्दै जाँदा महिला शिक्षक कम हुँदै

विद्यालय शिक्षामा तह बढ्दै जाँदा महिला शिक्षकको संख्या कम हुँदै गएको एक सरकारी तथ्यांकले सार्वजनिक गरेको छ। महिला शिक्षक प्राथमिक तहमा राम्रो संख्यामा कार्यरत रहे पनि माध्यमिक तहमा महिला र पुरुषको तुलनात्मक अध्ययन गर्दा ठूलो खाडल देखिएको छ।

आर्थिक सर्वेक्षण २०७७/७८ ले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनबाट शिक्षा क्षेत्रको तथ्यांक विश्लेषण गर्दा माध्यमिक तहमा १८.७ प्रतिशत मात्र महिला शिक्षक कार्यरत रहेको देखिन्छ।

शैक्षिक वर्ष २०७७ मा सामुदायिक र संस्थागत विद्यालयमा गरी कुल ३ लाख २० हजार ५ सय ७६ शिक्षक कार्यरत छन्। जसमध्ये ६०.५ प्रतिशत पुरुष र ३९.५ प्रतिशत मात्र महिला छन्। आर्थिक सर्वेक्षणअनुसार शिक्षाको अवस्थामा महिला शिक्षक प्राथमिक तहमा केही राम्रो संख्यामा भए पनि निम्न माध्यमिक र माध्यमिक तहमा भने पुरुषको तुलनामा निकै पछाडि छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, २०७७ को तथ्यांकअनुसार सबै तहका विद्यालयमा शिक्षकको लैंगिक संरचनाको विश्लेषण गर्दा आधारभूत तह (कक्षा १–५) महिला शिक्षकको संख्या ४७.४ प्रतिशत छ भने यही तहमा पुरुष शिक्षक संख्या ५२.६ प्रतिशत रहेको छ। कक्षा ६–८ मा महिला शिक्षकको प्रतिशत ३२.४ प्रतिशत र पुरुष शिक्षक ६७.६ प्रतिशत कार्यरत छन्।  

माध्यमिक तह कक्षा ९ र १० मा महिला शिक्षकको संख्या त झनै न्यून छ। यो तहमा महिला शिक्षकको संख्या २१.७ प्रतिशत र पुरुष शिक्षक संख्या ७८.३ प्रतिशत छ। कक्षा ११ र १२ मा महिला शिक्षकको संख्या १८.७ प्रतिशतमा सीमित हुन पुगेको तथ्यांक छ। यो तहमा पुरुष शिक्षकहरूको संख्या ८१.३ प्रतिशत छ।