|  

मिसन इम्पोसेबल-८ का लागि टमको जोडदार तयारी

२७ असोज, काठमाडौं ।  हलिउड स्टार टम क्रुज आफ्नो दमदार एक्सनका लागि सुप्रसिद्ध छन् । एक्सनका लागि टम कडा मिहिनेत गर्छन् । ५९ वर्षका टम चलचित्रका लागि यस्ता स्टन्ट गर्छन् जुन २५ वर्षका युवा एक्सन कलाकारहरुले पनि गर्दैनन् । कामका प्रति टमको जोस तथा लगाव हेर्न लायकको हुन्छ । उनी सधैं केही न केही नयाँ काम गरिरहेका हुन्छन् । यस क्रममा टम अहिले आफ्नो आगामी चलचित्र ‘मिसन इम्पोसिबल-८’ का लागि दोस्रो विश्वयुद्धताकाको युद्धक विमान उडाउने प्रशिक्षण लिइरहेका छन् ।

मिडिया रिपोर्टहरुका अनुसार, हालै टम क्रुजले बेलायतको क्याम्ब्रिजसायरस्थित डक्सफोर्ड एयरफिल्डमा सन् १९४३ को बोइङ स्टियरम्यान मोडल ७५ उडाए । यसबाट बुझ्न सकिन्छ कि टम आफ्नो चलचित्रको एक्सन सिनलाई परफेक्ट बनाउन कति मिहिनेत गर्छन् ? ‘मिसन इम्पोसिबल-८’ का लागि टम आफैंले सैन्य विमान उडाउँदै छन् । भनिन्छ यो चलचित्रमा दुश्मनहरुको युद्धक विमानको पिछा गर्ने दृश्य छ जसका लागि टमले उक्त प्रशिक्षण लिएका हुन् । टम क्रुज सुप्रिसद्ध चलचित्र ‘मिसन इम्पोसिबल’ का सिरिजहरुमा ‘एजेन्ट एथन हन्ट’ को भूमिकामा प्रस्तुत हुन्छन् । उनको यो भूमिका नेपाललगायत संसारभर लोकप्रिय  छ ।

यता एक अर्को खबरअनुसार टमले हालै मिसन इम्पोसिबल-७ को छायांकन सम्पन्न गरेका छन् । टमलाई यो चलचित्र तथा यसको आफ्नो भूमिका यति प्यारो छ कि उनले कुनै विश्राम नलिई मिसन इम्पोसिबलको अघिल्लो पार्टको तयारीसमेत सुरु गरिसकेका छन् । २०२१ को सुरुतिरै उनले फिल्मको एक एक्सन सिक्वेन्सका लागि बोइङ स्टियरम्यान बाइ प्लेन उडाउने प्रशिक्षण लिन थालिसकेका थिए । समाचारअनुसार टम क्रुज आफ्नो आगामी एक्सन फिल्म ‘टप गन मेवारिक’ मा पनि प्लेन उडाउने तयारीमा छन् ।

हलिउड स्टार टम क्रुजले चलचित्र मिसन इम्पोसिबलका सिरिजहरुका माध्यमबाट चलचित्रमा एक्सन र एडभेन्चरका दृश्यलाई एउटा अलग स्तरमा पुर्याएका  छन् । खासगरी युवा एवं बालबालिकामा उनका चलचित्रको ठूलो क्रेज छ । टमको मिसन इम्पोसिबल-७ आगमी वर्ष अर्थात् २०२२ मा तथा मिसन इम्पोसिबल-८ अर्को वर्ष अर्थात् २०२३ मा प्रदर्शनमा आउने बताइएको छ ।