|  

बिकेनन् बाहिरबाट लिएर आएका खसीबोका, व्यापारी निराश

२७ असोज, काठमाण्डौं । काठमाडौं उपत्यकामा खसीबोका बिक्री वितरण कम भएको भन्दै व्यापारीहरूले गुनासो गरेका छन् ।

अधिकांश मानिसहरू दशैँ मनाउन गाउँमा गएकाले काठमाडौंमा खसीबोका व्यापार कम भएको व्यापारीले बताएका हुन् । काठमाडौंका स्थानीय व्यापारीहरूको राम्रो व्यापार भएपनि बाहिरबाट खसीबोका लिएर आउने व्यापारीहरूले खरिद गरेको मुल्य उठाउन नसकेको गुनासो गरेका छन् ।
काभ्रेबाट खसीबोका बिक्री गर्न भन्दै बबरमहलमा आएका जनक लामाले गत वर्षको तुलनामा यस वर्ष व्यापार निकै कम भएको बताए । गत वर्ष तीन सय खसीबोका ल्याउँदा फूलपातीकै दिन बेचेर जाने गरेको बताउँदै उनले यस वर्ष अझै सयवटा बोका बेच्न बाँकी रहेको बताए ।

त्यस्तै धादिङबाट खसीबोका ल्याएर भृकुटीमण्डपबाट बेच्दै आएका परशुराम चौलागाँईले पनि गत वर्षको जस्तो व्यापार नभएको बताए । उनले कोरोनाका कारण ग्राहकको खरिद गर्ने क्षमातामा कमी भएको बताए ।

कोरोना भाइरसको महामारीका कारण गत वर्ष धेरैले राजधानी नछोडेकोमा यस वर्ष भने करिब नौ लाखले राजधानी छाडेको बुझिएको छ ।