|  

चीनको यस्तो अघोषित आंशिक नाकाबन्दी कहिलेसम्म ?

२८ असोज, काठमाण्डौं । तातोपानी नाका भूकम्पपछि पूर्णरूपमा सूचारु हुन अझै सकेको छैन । चीनले केरुङ नाका कोभिड-१९ सुरु हुँदै गर्दा २०७६ साल माघदेखि केही समय ठप्प पारिदिएको थियो ।

दुबै नाका हाल चालु रहेको भने पनि दैनिक १० देखि २० वटा कन्टेनर भन्दा बढी सामान नेपाल प्रवेश भएको छैन् । दशैँ र तिहारलाई लक्षित गरी नेपाली व्यवसायीहरूले चीनबाट आयात गर्न लागेका सामान चीनतर्फ नै रोेकिएपछि ब्यापारीहरु मर्कामा परेका छन् । चीनले धेरै दिन कन्टेनर रोकिदिँदा नेपाली व्यापारीले ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।

नेपाल चेम्वर अफ कमर्सका कार्य समिति सदस्य निरज राइले हेर्डलाइन नेपालसँग कुरा गर्दै दैनिक १ हजार २ सय भन्दा बढी कन्टेनर सामान नाकामै रोकिएको भएपनि दिनमा कम्तीमा १० देखि २० कन्टेनर मात्र नेपाल प्रवेश गर्न पाएको जानकारी दिए । उनले भने, “व्यवसायीले वर्षभरीमा व्यापार गर्ने सिजन भनेको दशैँमा हो । बिक्री गर्ने समयमा सामान नआउँदा व्यवसायीले करोडौँ रुपैयाँ घाटा बेहोर्नुपरेको छ, यसबाट व्यवसायीहरू मात्र नभएर उपभोक्ता पनि मारमा परेका छन् । चीनले सिमित मात्र आयात गर्ने अनुमति दिएको छ । ” 

यसरी चीनले धेरै दिन कन्टेनर रोकिदिँदा नेपाली व्यापारीले ठूलो नोक्सानी व्यहोर्नु परेको भएपनि नेपाल सरकारले सहजीकरणका लागि खासै पहल नगरेको उनले गुनासो गरे । चीनको यस्तो अघोषित आंशिक नाकाबन्दीले व्यवसायीहरू हैरानीमा छन् । भूकम्प, कोरोना महामारी, लकडाउन लगायतको बहानमा नाकाहरू खोल्न चीन अनिच्छुक देखिन्छ । नाका पुर्ण रुपमा नखुलेपछि राजस्व सङ्कलनमा पनि ठूलो गिरावट आएको छ ।

चीन र नेपालको ६ वटा नाका सञ्चालनमा रहेपनि ब्यवहारिक रुपमा दुई देशबीचको द्विपक्षीय व्यापार भने दुई वटा नाका (कोदारी–तातोपानी नाका र रसुवागढी नाका) बाट मात्रै हुने गरेको छ । बिभिन्न समयमा प्राकृतिक प्रकोपका कारण हुने अबरोधबाहेक नेपालको उत्तरतर्फको दुई देशीय ब्यापारका लागि तातोपानी नाका नै एक मात्र र अन्तराष्ट्रिय नाकाको रुपमा रहेको छ ।


त्यस्तै २०७२ को भूकम्पलगत्तै भारतीय नाकाबन्दीको चपेटामा मुलुक परेपछि नेपाल–चीन दुईदेशीय अन्तर्राष्ट्रिय नाकाको रुपमा २०७३ सालबाट रसुवागढी नाका सञ्चालन भईरहेको छ । रसुवागढी नाका अहिले नेपाल–चीनबीच धेरै व्यापार हुने प्रमुख नाका पनि रहेको छ ।