|  

राखेप सदस्य सचिव सिलवाल बर्खास्त

२ कार्तिक, काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 

कामप्रति सन्तुष्ट हुन नसकेको भन्दै सरकारले सिलवाललाई यसअघि दुई पटक स्पष्टिकरण सोधेको थियो। स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै पदावधि ४ वर्ष भएपछि भण्डै ३ वर्ष समय बाँकी रहँदै सिलवाललाई बर्खास्त गरिएको ती मन्त्रीले बताए। 

‘मन्त्रीपरिषद्ले स्पष्टिकरण मन्त्रालयमार्फत् मागेको थियो। हामीले उहाँलाई सफाइको मौका दिएका थियौं। तर, खेल क्षेत्रको विकासका लागि उहाँले गर्नु भएको प्रतिबद्धता अनुसार काम हुन नसकेपछि बर्खास्त गरेका हौं,’ ती मन्त्रीले भने।

यता,सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पनि सिलवाललाई बर्खास्त गरेको जानकारी दिए। ‘कतिपय निर्णय परिपक्व हुन समय लाग्ने हुनाले सार्वजनिक नगरिएको हो। उहाँ सिलवाल बर्खास्तमा परेका हुन्,’ उनले भने।

तत्कालिन केपी ओली नेतृत्वको सरकारको पालामा सिलवाल दोस्रो पटक सदस्य सचिव नियुक्त भएका थिए। नयाँ ऐन अनुसार सिलवाल गत वर्ष साउन १२ गते दोस्रो पटक सदस्य सचिव नियुक्त भएका थिए। तत्कालिन मन्त्रीपरिषद्ले ३ जनाबाट उनलाई छनोट गरेको थियो।

अब राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार नयाँ सदस्य सचिव नियुक्त हुनेछन्। नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहने सिफरिस समितिले एक महिलासहित ३ जनाको नाम मन्त्री परिषद्लाई सिफारिस गर्नेछ।

खेलकुद ऐनमा राखेपको सदस्यसचिवका लागि नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्नेलगायतका पाँचवटा मापदण्ड तोकिएको छ। 

पहिलो पटक २०७६ असार २३ गते सदस्य सचिव नियुक्त भएका सिलवाल गतवर्ष असार १८ गते नयाँ ऐनको कार्यन्वयनसँगै पदमुक्त भएका थिए। उनको नेतृत्वमा नेपालले करिब दुई वर्ष अघि १३ औं दक्षिण एसियाली खेलकुद आयोजना गरिएको थियो।