|  

नुवाकोट दुर्घटना : घाइते १ जनाको मृत्यु

२ कार्तिक काठमाडौं । नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको किस्पाङ–१ का रमेश तामाङको निधन भएको हो ।

३८ वर्षीय तामाङको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । 

उनका अनुसार गम्भीर अवस्थाका थप नौ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकामध्ये बाँकी आठजनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । 

उनीहरूमध्ये अधिकांशको हात र खुट्टा भाँचिएकाले अवस्था क्रमशः सामान्य हुँदै आएको छ।घाइतेमध्ये अन्य ३४ जना उपचारपछि आजै घर फर्किएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

किस्पाङ गाउँपालिका–१ भाल्चेबाट त्रिशूली हुँदै काठमाडौँ जान लागेको बा ४ ख ५७६२ नंको बस आज बिहान ११ बजे मनकामना आइपुग्दा ब्रेकले काम नगरेसँगै दुर्घटनामा परेको थियो। 

यात्रुले खचाखच भरिएको केरुङ यातायात प्रालिको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा हुँदा चालकसहित ५३ जना घाइते भएका थिए ।