|  

माओवादी केन्द्रले आयोजना गर्न लागेको सम्मेलनको कार्यतालिका फेरबदल

२ कार्तिक, काठमाडौं ।  नेकपा माओवादी केन्द्रले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ । 

आज विहान बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका हेरफेर गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराका अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ । यस्तै टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म हुनेछन् । वडा सम्मेलनको म्याद मंसिर ४ सम्म थपिएको छ भने पालिका सम्मेलनहरू मंसिर ११ गतेसम्म सम्पन्न गर्नुपर्नेछ । प्रदेश सम्मेलन मंसिर २५ सम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गरिने महराको भनाइ   छ ।

त्यस्तै मंगलबारको बैठकले संगठनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । जसमा १४९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने जेष्ठ कम्युनिस्ट मञ्च ९९ जनाको बनाएको छ । प्रवक्ता महराकाअनुसार लेखा आयोगको संयोजक पेशल खतिवडालाई तोकेको छ भने टंक राईको नेतृत्वमा अनुशासन आयोग गठन गरेको छ ।

त्यस्तै विशेष समिति १७५ सदस्यीय बनाएको माओवादीले जनाएको छ । बैठकमा विभिन्न पार्टीसँगको एकीकरणका लागि कार्यदलले पेश गरेको प्रस्तावमा छलफल सुरु भएको प्रवक्ता महराले जानकारी दिए । माओवादीको अर्को बैठक कार्तिक ४ गते पुन बस्नेछ ।