|  

रुवी खानले जुस खाएर अनशन तोडिन्

२ कार्तिक, काठमाण्डौं । १२ दिनदेखि अनशनरत महिला अधिकारकर्मी रुवी खानले अनशन तोडेकी छिन् ।

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि अनशन बसेकी खानले सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएसँगै अनशन तोडेकी हुन् । सहसचिव रेग्मीको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामप्रकाश साह, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, गृह मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, बाँकेका महम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य अधिकृत रहेका छन् ।

खानलाई मानव अधिकार आयोगकी पूर्व-सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनशन तोडाएका हुन् । अनशन तोडेपछि उनले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाको जित भएको बताइन् । उनले प्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै कारबाहीको माग समेत गरेका छन् ।