|  

जानकी र टीकापुर जोखिममा, सुरक्षा निकाय हाइ अलर्टमा

२ कार्तिक काठमाडौं । कर्णालीको नदीमा पानीको वहाव खतराको अवस्थामा पुगेपछि कर्णाली नदीको आसपासमा रहेको जानकी गाउँपालिका र टीकापुर नगरपालिका जोखिममा परेको छ। 

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले कर्णाली नदीको पानी ओभरफ्लो भएर खैरीफाँटा, कटाँसे लगायतका क्षेत्रमा पसेको बताए ।

त्यसैगरी कर्णाली नदीमा पानीको सतह खतरामा पुगेपछि रानी जमरा कुलरिया सिँचाई आयोजनाको बाँध फुटाएर नहरमा समेत नदीको पानी पसेको छ। रानी जमरा कुलरिया सिंचाइ आयोजनामा कर्णालीको पानी पसेपछि जानकी गाउँपालिकाका सबै क्षेत्रमा असर पर्ने अध्यक्ष चौधरीले बताए ।

उहाँले गाउँपालिकाले यस अघिनै तटीय क्षेत्र तथा डुवान क्षेत्रमा रहेका जनतालाई सजगता अप्नाउन तथा सुरक्षित स्थानमा बसोबासका लागि सूचित गरिएको जनाए।


उनले भने अहिले पनि पानी ओभरफ्लो भएकै क्षेत्रमा छु, स्थानीय स्रोतसाधनलाई अर्लटमै राखेका छौ,सुरक्षाकर्मीसंग समन्वय गरेका छौ। कर्णाली नदीमा पानीको बहाव खतरामा पुगेपछि जोखिम बढेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जानकी गाउँपालिका, टीकापुर नगरपालिकालाई ‘हाइ अलर्ट’गरिएको जनाएको छ। ‘

रानीजमरा सिँचाई नहर र शाहिपुरको बाँध फुटेको जानकारी प्राप्त भएको छ , टिकापुर नगरपालिका र जानकी गाउँपालिकालाई कर्णालीको पानी पसेको बारे जानकारी गराइएको छ’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने ‘ जानकी र टीकापुरमा हाई अलर्टमा राख्दै आवश्यक संयन्त्रलाई समेत तयारी अवस्थामा रहन जानकारी गराइएको छ।

अहिले कर्णाली नदीमा पानीको सतह निकै खतराजनक अवस्थामा पुगेको समेत उनले बताए।कर्णालीमा अहिले पानीको सतह १२.४५ मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह हो। 

खतराको तहभन्दा पनि माथि पुगेको हुँदा ठूलो क्षति हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन स्थानीय तहसंग समन्वय भैरहेको समेत सूचना अधिकारी जोशीले जानकारी दिए।

रेडक्रसकर्मि रंगप्रसाद तिमिल्सेना अहिले कर्णाली चिसापनीमै छन् ।उनका अनुसार पानीको बहाव बढ्दै गएको छ। गेज रिडर पार्वती गुरुड्डलाई उदृत गर्दै तिमिल्सेनाले ३ बजे सम्म पानीको सतह १२.६० मिटर पुगेको छ ।