|  

सगरमाथा आरोहण गर्ने नेपालकै कान्छी महिलाको यस्तो छ आरोहण कथा !

निशा कार्की,
६ पुस, काठमाडौं ।
हिमाल आरोहणबाटै विश्वविख्यात बनेको शेर्पा परिवारकी कान्छी छोरी हुन्, निमा ल्हामु शेर्पा । जसले नेपालमा सबैभन्दा कान्छी महिला सगरमाथा आरोहीको रुपमा आफ्नो नाम राख्न सफल बनेकी छन् ।

उनले २० वर्षको उमेरमा २०२१ मे १२ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथा चढेकी हुन् । जसको कारणले परिवारले नै अर्को रेकर्ड कायम गरेको छ । दुर्गम ठाउँ दोलखाको रोल्वालिङ गाउँपालिकामा जन्मिएकी उनीसँगै उनका अन्य ११ जना दाजुभाई तथा दिदीबहिनीहरु रहेका छन् । १२ सन्तानमध्ये ८ जनाले विश्वकै सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्न सफल भएका छन् । त्यो पनि एक पटक हैन्, दर्जनौ पटक । उनीहरुको अर्को एउटा विश्व किर्तिमान छ । जुन हो, एकै परिवारका धेरै सदस्य सगरमाथा चढ्ने विश्व कीर्तिमान ।

आमा किङजुङ शेर्पाको कोखबाट उनीहरुको जन्म भएको थियो । छिरिङ नोर्बु शेर्पा उनीहरुका बाबु हुन । सन् २००० मा पहिलोपटक माइलो छोरो पेम्बा गेल्जिङ शेर्पाले परिवारबाट पहिलो सदस्यको रुपमा हिमाल आरोहण गरेका थिए । उनले २१ पटक सगरमाथा चढिसकेका छन । उनकै सफलता, हौसलाले अन्य दाजुभाई र बहिनीहरुले पनि सगरमाथा चढ्न कम्मर कसेको देखिन्छ ।

उनले सगरमाथामा थुप्रै कीर्तिमान बनाएका छन् । सन् २००४ मा सबैभन्दा छिटो समय अर्थात ८ घन्टा १० मिनेटमा सगरमाथा चढेर बनाएको कीर्तिमानलाई आजका दिनसम्म कसैले ब्रेक गर्न सकेका छैनन् । यतिमात्र होइन ४ दिनमा २ पटक बिना अक्सिजन सगरमाथा चढेको, चीनबाट १० दिनमा ३ पटक सगरमाथा आरोहण गरेका लगायतका थुप्रै कीर्तिमान उनको नाममा छन् ।

पेम्बासँगै उनका ठुला दाजु पेम्बा ग्याल्जेन शेर्पा, माइला दाजु फूर्वा थुन्डु, नीमा ग्याल्जेन, फूर्वा तेन्जिङ, फूर्वा थिले, दावा डिकी र कान्छी बहिनी निमा ल्हामु शेर्पाले सगरमाथा चढेका छन् ।

त्यसैमध्येका फूर्वा तेन्जिङ शेर्पाले सबैभन्दा कम उमेरमा धेरैपटक सगरमाथा चढेर कीर्तिमान बनाएका छन् । फूर्वा अहिलेसम्म १४ पटक सगरमाथाको चुचुरोमा पुगिसकेका छन् । उनले १७ वर्षको उमेरदेखि सगरमाथा चढ्न सुरु गरेका थिए ।

त्यस्तै पेम्बा ग्याल्जेन शेर्पाले ५ पटक, फूर्वा थुन्डु शेर्पाले ५ पटक, फूर्वा थिले शेर्पाले ४ पटक, नीमा ग्याल्जेन शेर्पाले ९ पटक, दावा डिकी शेर्पाले १ पटक र निमा ल्हामू शेर्पाले नयाँ किर्तिमानसहित १ पटक हिमाल आरोहण गरेकी छन् ।

निमा ल्हामु शेर्पा भन्छिन्, ʻम आफ्नो दाजुहरुको प्रेरणाको कारणले सगरमाथा आरोहण गर्न सफल भएको हो । यो सवै जस मेरा दाजुहरुलाई जान्छ ।’ उनले थपिन्, ʻसगरमाथाको योजना बन्दा मलाई अलिअलि मनमा डर थियो । तर, लोबुचे हिमालको सफल आरोहण गरेपछि भने सगरमाथा सहजै चढ्न सक्छु भन्ने आँट पलायो ।’ 

सगरमाथा यात्रालाई स्मरण गर्दै उनले भनिन् , ʻसगरमाथाको बेसक्याम्पबाट यात्रा सुरु गरेर क्याम्प ४ बाट उकालो लागेपछि सगरमाथा कहिले आइपुग्ला जस्तै भयो । जब म चुचुरोमा पुगें तब आफु स्वर्ग नै पुगेजस्तो भयो । आफु बादलमाथि उडेँको जस्तो अनुभुति भयो ।’

हेडलाइन नेपालसँग कुरा गर्दै उनले परिवारले पाएको यो सफलताबाट आफु धेरै नै खुसी भएको बताइन् । उनले आफुहरु ८ जनामात्र नभइ बाह्रै जना सगरमाथा चढ्ने र दरिलो रेकर्ड बनाउने लक्ष्यका साथ अघि बढेको पनि जानकारी दिइन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई हाल ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो रहेको छ । वि.सं. २०५० साल बैशाख १० गते पासाङ ल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी थिइन् । त्यसपश्चात थुप्रै नेपाली महिलाहरुले सगरमाथा आरोहणमा सफलता प्राप्त गर्दै आएका छन् ।