|  

चलचित्र क्षेत्रको खराब अवस्थामा आशाको किरण बन्दै ‘कठपुतली’

निशा कार्की ।
२१ पुस, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट गम्भीर रूपमा थलिएको नेपाली चलचित्र क्षेत्र अझै उठ्न नसकिरहेको अवस्थामा नेपाली चलचित्र कठपुतली आशाको किरण बन्दै छ ।

गत शुक्रबार अर्थात पुस १६ गते प्रर्दशनमा आएको कठपुतली नेपालका मल्टिप्लेक्स सिनेमा घरहरुमा आफ्नो स्थान जमाएर बसिरहेको छ । नेपाली चलचित्र क्षेत्रमा ठुला बजेटका, ठुला ब्यानरका चलचित्रहरु समेत अहिले प्रर्दशन गर्न डराइरहेको अवस्थामा कठपुतलीले यस प्रकारको साहस गर्नु र दर्शकले यति माया गर्नुलाई चलचित्र क्षेत्रका पण्डितहरुले सराहना गरिरहेका छन् ।

नेपाली चलचित्र ‘चपलीहाइट ३’ ले प्रर्दशन गर्न डराएर छाडेको मितिमा ‘कठपुतली’ प्रर्दशनमा आउनु आफैमा हिम्मतिलो कदम हो । चुनौती नै चुनौतीको वीचमा ‘कठपुतली’ प्रर्दशनमा आएको हो । नेपाली चलचित्र क्षेत्रको इतिहास हेर्दा कुनै पनि हरहर जनराका चलचित्रहरुले राम्रो सफलता हात पार्न सकेका थिएनन् । एकातिर हरहर जनराका चलचित्र नचल्ने, अर्कोतर्फ कोरोनाको महामारीपछि आम दर्शक सिनेमा घरमा जान नचाहने । दुवै चुनौतीहरु छिचोल्दै अगाडी बढ्नु ‘कठपुतली’ को लागि एउटा फलामको चिउरा चपाएजस्तै थियो । तर भनिन्छ, दर्शक भनेका भगवान नै हुन् । कठपुतलीलाई दर्शकको मायाले यतिबेला ठुलो राहत मिलेको छ । २ करोडभन्दा माथिको बजेटमा निमार्ण गरिएको ‘कठपुतली’ ले यतिबेला डेढ करोडको हाराहारीमा ब्यापार गरिसकेको कठपुतली टिमका सदस्यले बताउँछन् ।

फिल्मकर्मीबाट उत्कृष्ट प्रतिक्रिया पाएको ‘कठपुतली’ दर्शकबाट समेत रुचाइएपछि  हलिउड फिल्म स्पाइडर म्यान र दक्षिण भारतीय फिल्म पुष्पाको आक्रामक व्यापारलाई समेत तोड्न सफल बनेको छ । जसले गर्दा मल्टिप्लेक्स हलहरूले पनि ‘कठपुतली’ लाई प्राथमिकता दिएका छन् ।

भिमसेन लामाद्वारा निर्देशित फिल्म ‘कठपुतली’ मा पिताको गलत निर्णयले ढल्ने अवस्थामा पुगेको राजतन्त्रलाई जोगाउन निस्किएको राजकुमारको जीवनमा आउने विभिन्न घटनाक्रमलाई देखाइएको छ । फिल्ममा यस्तो देखाइएको छ, देशमा राजतन्त्रविरुद्धको आन्दोलन चर्किएको छ । युवराज (कर्मा) आफ्नो बुवालाई जनतासँग माफी माग्न लगाएर आन्दोलन साम्य पार्न चाहन्छ । तर राजा (ध्रुव कोइराला) छोराको कुरा सजिलै मान्दैनन् । उनी आफ्नै हिसाबले आन्दोलन रोक्न लागिपरेका छन । किनकी उनलाई जसरी पनि राजगद्दीमा राज गर्नुछ ।

दरबारभित्रै थुनिएका युवराज भने आन्दोलन रोक्ने आफ्नो कुटनीतिक गुरु योजना पूरा गर्न एकदिन दरबारबाट भाग्छन् । गुरु–योजनामा साथ दिने साथीहरू भेट्न नपाउँदै उनी एक बन्द दरबारभित्र पुग्छन् । त्यही बन्द दरबारभित्र उनले असाधारण घट्नाहरूको सामना गर्छन ।’

फिल्म हरहर भए पनि यसले नेपालकै माटोको कथा भन्नुको साथै भूत प्रेत, तन्त्र मन्त्रको पनि कथा भनेको छ । फिल्मले नारी पात्रलाई सशक्त रुपमा प्रस्तुत गरेको छ । फिल्ममा पैतालाको माटो, कपाल काटेर तन्त्रमन्त्रको प्रयोग, उल्टा पाइला, मरिसकेको व्यक्ति (किचकन्या) को खुट्टामा धागो बाँध्ने जस्ता परम्परागत शैली प्रस्तुत गरेकाले यो नेपाली समाजसँग नजिक भएको निर्माण टिमको दावी छ ।

यो फिल्म हेरिसकेपछि सम्पुर्ण दर्शकहरुबाट भने मिश्रित प्रतिक्रिया आएका छन् । कसैले भनेका छन्, ‘जबर्जस्त ध्वनीले नै दर्शक तर्साउनुपर्छ भन्दै कर्कस आवाजको प्रयोग गर्ने नेपाली हरहर फिल्मभन्दा ‘कठपुतली’ बिल्कुलै फरक र उत्कृष्ट रहेको छ ।’ तर कतिले यस्तो पनि भनेका छन्, ‘फिल्मका संवाद फितलो हुनुका साथै पटकथा नै कमजोर छ ।’ कमजोर कथा, फितलो प्रस्तुती भएको भनिएपनि फिल्मको प्राबिधिक पक्षलाई भने सवैले उत्कृष्ट मानेका छन् ।

पृथ्वी राना मगर निर्माता रहेको यो फिल्ममा सम्पदा मल्लको लेखन रहेको छ । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरूको अभिनय रहेको छ । यो फिल्मलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका थिए ।

यसैवीच हेडलाईन नेपालसँग कुरा गर्दै फिल्मको मुख्य भुमिकामा रहेकी अभिनेत्री उषा रजकले पहिलो पटक हरहर फिल्ममा काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै भनिन, ‘वर्षौंको मेहनतले यत्तिको फिल्म बन्न सफल भयो ।’

नेपालमा फाट्टफुट्ट हरहर विधामा फिल्महरु बन्ने गरेका छन । तर ती फिल्महरुले हरहर विधालाई खासै स्थापित गर्न सकेका छैनन् । तर कठपुतलीले भने नेपालका मौलिक हरहर कथा समेटेको र आफ्नो फिल्म हरहर विधामा स्थापित हुने टिमको दाबी छ ।