|  

उपत्यकामा बालबालिकालाई विद्यालयमै पुगेर कोरोना विरुद्धको खोप दिन सुरु 

२५ पुस, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको भक्तपुरबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप दिन आजबाट सुरु गरेको छ ।

भक्तपुरमा मोर्डना र फाइजर खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका जनस्वास्थ्य अधिकृत भरत भण्डारीले जानकारी दिए । काठमाडौंमा भने पुस २७ देखि बालबालिकालाई खोप दिने तयारी गरिएको छ ।

स्थानीय पालिकाहरुसँग समन्वय गरी काठमाडौं जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका २ लाख ७० हजार बालबालिकालाई खोप दिइने जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए । 
त्यस्तै, ललितपुरमा पनि पुस २७ गतेबाट नै बालबालिका लागि फाइजर खोप दिइने भएको छ । उपत्यकाका तीनवटै जिल्लामा बालबालिकालाई विद्यालयमै पुगेर कोरोना विरुद्धको खोप दिइनेछ ।

सरकारले ५७ जिल्लामा बालबालिकालाई मोडर्ना र २० जिल्लाका बालबालिकाहरूलाई फाइजर खोप दिने निर्णय गरेको थियो ।