|  

नोबेल मेडिकल कलेजमा पढ्न पाउनु पर्ने अतिरिक्त शुल्क नबुझाउने नयाँ विद्यार्थीहरुको माग

२८ पुस, काठमाडौं । एमबीबीएसमा भर्ना भएका अतिरिक्त शुल्क नबुझाउने नयाँ विद्यार्थीले नोबेल मेडिकल कलेजमा पढ्न पाउनु पर्ने माग गर्दै धर्ना दिएका छन् ।

अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएपछि पिडित विद्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानको सहयोगमा पीडित विद्यार्थीहरू नोबेल मेडिकलमा रिले अनशन र जिल्ला प्रशान कार्यालयको मूल गेटमा धर्ना बसेका छन् ।

विद्यार्थीले आजदेखि कलेज प्रशासनमा ताला समेत लगाएका छन् । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङलाई मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको र अतिरिक्त शुल्कको बहानामा विद्यार्थीको पठनपाठन रोकिएको भए कानुनी कारबाही गर्न पत्राचार गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विद्यार्थीहरूलाई कलेजले अतिरिक्त शुल्क मागेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिन आग्रह गरेका छन ।

तर‚एमबीबीएस अध्ययनका क्रममा कलेजले आन्तरिक मूल्यांकन गरेर परीक्षामा अंक दिने भएकाले कलेजविरुद्ध उजुरी दिने हिम्मत गर्न सकेको छैन । प्रजिअ दाहालले कलेज सञ्चालकसँग छलफल भइरहेकाले चाँडै विद्यार्थीको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पुस १४ गतेदेखि पठनपाठनमा रोकेको छ । कलेजमा रहेका सय विद्यार्थीको कोटामा भर्ना भएका ९६ विद्यार्थीमध्ये नौ जना भारतका, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई पढाइरहेको छ । तर अतिरिक्त शुल्क नबुझाएको भन्दै कलेज प्रवेशमा नै रोक लगाएकाले आन्दोलनलाई निरन्तरता दिएको पीडित विद्यार्थीहरूले बताएका छन् ।