|  

डिम्याट खाता खोल्नेको संख्या ४८ लाख नाघे

२९ पुस, काठमाडौं । केही महिनायता सेयर बजार अपेक्षित रुपमा बढ्न नसके पनि लगानीकर्ताको आकर्षण भने बढिरहेको छ ।

औसतमा मासिक एक लाख नयाँ लगानीकर्ता बजार प्रवेश गर्नुले पनि उक्त कुराको पुष्टि भएको छ । गत कात्तिक तेस्रो साता यता मात्र थप २ लाख लगानीकर्ताले डिम्याट खाता खोलेका छन् । यो सँगै आजसम्म सेयर बजारमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ४८ लाख ५ हजार ८ सय २० पुगेको छ ।

गत कात्तिक तेस्रो सातासम्म यस्तो संख्या ४६ लाख ६ हजार ८ सय २७ र भदौ पहिलो सातासम्म ४० लाख ८७ हजार थियो । उल्लेखित तथ्यांकका आधारमा गत भदौ यता सेयर बजारमा करिब ७ लाख १८ हजार नयाँ लगानीकर्ता थपिएको देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा मात्र सेयर बजारमा २० लाख १३ हजार लगानीकर्ता थपिएका थिए । २०७७ असारमा डिम्याट खाता संख्या १७ लाख २३ हजार ६ सय मात्र थियो ।

आजसम्म ७ अर्ब ९४ करोड ७९ लाख ६५ हजार २ सय ७६ कित्ता सेयर डिम्याट भएको सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) को तथ्यांक छ ।