|  

प्रहरी तालिम केन्द्रको जग्गामा अन्य संरचना बन्दैन - मन्त्री झाक्री

३० पुस, काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले राष्ट्रपति कार्यालय विस्तार गर्न जरुरी नभएको बताएकी छन् ।

महाराजगन्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) लाई अहिलेकै अवस्थामा रहन दिने भन्दै उनले प्रहरी तालिम केन्द्रको महत्व र प्रहरीको भावना जोडिएकाले त्यहाँ अन्य संरचना नबन्ने बताएकी हुन् । मन्त्री झाक्रीले राष्ट्रपति कार्यालय विस्तार गर्न जरूरी नरहेको र आवश्यक परेको बेलामा पार्किङ गर्न तालिम केन्द्र प्रयोग गर्न सकिने बताइन ।

उनले काभ्रेमा तालिम केन्द्र बनिसकेपछि पनि दुबैतिर काम हुने पनि स्पष्ट पारिन । २०७५ भदौमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रहरी तालिम केन्द्रलाई १८ महिनाभित्र काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको थियो । तालिम केन्द्रको जग्गालाई राष्ट्रपति कार्यालले प्रयोग गर्ने भनिएको थियो ।

सरकारको निर्णयप्रति प्रहरी अधिकारीहरू असन्तुष्ट थिए । उनीहरूले तालिम केन्द्रसँग प्रहरीको भावनात्मक सम्बन्ध रहेको र कतिपय तालिम काठमाडौंबाहिर असम्भव रहेको भन्दै तालिम केन्द्र नहटाउन लबिङ गर्दै आएका थिए । प्रहरीका अवकासप्राप्त कतिपय उच्च अधिकारीले ओली सरकारको निर्णय कार्यान्वयन गर्नै नहुने धारणा राख्दै आएका छन् ।

गत साउनमा नेपाल प्रहरीका ११ अवकासप्राप्त महानिरीक्षकले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्रसमेत बुझाएका थिए । जसमा १४ जनाले हस्ताक्षर गरेका थिए ।