|  

‘ए मेरो हजुर ४’ को प्रर्दशन मिति सारियो, बैशाख १ मा प्रर्दशन हुने 

३० पुस, काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ नयाँ वर्षको अवसर पारेर बैशाखमा प्रदर्शन गरिने भएको छ ।

चलचित्र निर्माण टोलीले चलचित्रको टिजर सार्वजनिक गर्दै चलचित्र प्रदर्शन मिति घोषणा गरेको हो । नायक अनमोल केसी र नायिका सुहाना थापा अभिनित यो चलचित्रलाई बैशाख १ गते प्रदर्शन गरिने छ । यसअघि चैत्र २५ मा प्रर्दशन मिति तोकिएकोे थियो ।

चैत्र २५ मा बलिउड चलचित्र ‘लाल सिंह चढ्ढा’ र कन्नड डब चलचित्र ‘केजीएफ २’ प्रदर्शन हुन सक्ने सम्भावना रहेको भन्दै चलचित्र प्रदर्शन मिति सारिएको हो । सार्वजनिक टिजरमा अनमोल र सुहानाबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ ।

सुहाना इन्टरटेन्मेन्टको प्रस्तुति र सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा झरना स्वयमको कथा रहेको छ भने पटकथा र संवादमा उनलाई स्व छेतन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।

चलचित्रमा नायक सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन, बसन्त सापकोटा, प्रतीक पौडेल, कल्याण सिंह र आशिष अविरलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डि गुरुङको सम्पादन रहेको छ ।