|  

आगामी बर्षको जेठ ५ अघि नै स्थानीय तहको निर्वाचन सक्नुपर्ने दलहरुको सुझाव 

३० पुस, काठमाडौं । राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनको वातावरण बनाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

आज राष्ट्रिय निर्वाचन आयोगमा भएको सर्वदलीय छलफलमा सहभागी राजनीतिक दलका नेताहरूले समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेका हुन । उनीहरुका अनुसार चुनाव २०७९ साल जेठ ५ गतेअघि नै सक्नेगरी हुनपर्नेछ ।

बैठकमा नेकपा एमालेका नेता विष्णु रिमालले आयोगले तयारीका लागि १ सय २० दिनको समय राखेरै आगामी वैशाखमा १४ गते निर्वाचन गर्ने प्रस्ताव गरेको, तर सरकारले त्यसबारे निर्णय गर्न ढिलाइ गरेको बताएका थिए ।

आयोगले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसँगको छलफलमा २०७९ साल वैशाख १४ गते एकै चरणमा वा दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते स्थानीय निर्वाचन गर्न प्रस्ताव गरेको थियो । तर, त्यसबारे सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

यसैवीच नेपाली कांग्रेस नेता रमेश लेखकले आयोगले राखेको प्रस्तावमाथि छलफल गरेर सरकार चाँडो निष्कर्षमा पुग्नुपर्ने बताए । बैठकमा आफूहरूले राष्ट्रिय सभा निर्वाचनमा मतदान स्थल र केन्द्रको संख्या बढाउन सुझाव दिएको नेता लेखकले बताए ।

आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी, मतदाता नामावली संकलनको अवस्था र स्थानीय निर्वाचनबारे छलफल गर्न आज आयोगको कार्यालयमा सर्वदलीय बैठक राखेको थियो ।