|  

सहकारीलाई आफ्ना सदस्यप्रति उत्तरदायी बन्न मन्त्री श्रेष्ठको आग्रह

३० पुस, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीहरुलाई आफ्ना सदस्यहरूप्रति उत्तरदायी बन्न आग्रह गरेकी छन् ।

आज राजधानीमा आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा, एकाइ प्रतिनिधिहरूको सभामा मन्त्री श्रेष्ठले यस्तो आग्रह गरेकी हुन् । उनले समुदायतर्फ सदैव जिम्मेवार बनेर आम मानिसको भरोसा बढाउनु सहकारीको दायित्व भएको बताइन् ।

मन्त्री श्रेष्ठले सहकार्यको भावनामा सञ्चालन हुने निकाय सहकारीमा सबैभन्दा बढी ब्याज रहेको भन्ने व्यापक जनगुनासो आइरहेकाले यसलाई तत्काल निकास दिनुपर्नेमा जोड दिइन् । उनले संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रूपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण हुने भन्दै सहकारीहरूलाई सदस्य केन्द्रित भई व्यावसायिक बनाउनुपर्नेमा दुईमत नरहेको उल्लेख गरिन् ।