|  

खोप लगाउने लाइन कि कोरोना संक्रमणको एम्बुस ?

निशा कार्की ।
३० पुस, काठमाडौं । पछिल्लो साता नेपालमा पनि कोरोना संक्रमणदर बढ्दो क्रममा छ । दैनिक संक्रमण वृद्धि तिव्र भएसँगै काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले स्मार्ट लकडाउन समेत लागु गर्दैछन् ।

उपत्यकाका तीनै जिल्लाका प्रमूख जिल्ला अधिकारीहरुले छुट्टाछुट्टै १८ बुँदे आदेशसहित कडाइ गर्ने निर्णय गरेका छन् । आदेशको ६ नम्बर बुँदामा भनिएको छ, ‘आगामी माघ ७ गते देखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भएपनि हुने) अनिवार्य गर्ने ।’ योसँगै माघ ७ गतेदेखि होटल, रेस्टुराँ, हल, रङ्गशाला, पार्क लगायतमा प्रवेशका लागि खोप कार्ड अनिवार्य चाहिने भएको छ ।

उपत्यकामा यो नियम लागु हुने भएपछि उपत्यका भित्रका विभिन्न खोप केन्द्रहरुमा खोप लगाउन मानिसहरुको ठूलो भीड लागेको छ । बाक्लो जनसंख्या भएको काठमाडौं, ललितपुर र भक्तपुरमा जम्मा २४ वटा मात्रै खोप केन्द्र छन् । जसका कारण खोप लगाउन जाने व्यक्तिहरुले सास्ती भोग्नुका साथसाथै भीडबाट संक्रमणको जोखिम पनि उत्तिकै बढेको छ ।

काठमाडौंको मीनभवनस्थित सिभिल अस्पतालमा खोप लगाउनेको लर्को सडकसम्म देखिन्छ । त्यो दृश्य हेर्दा आम मानिसको मनोवैज्ञानिक तनाव सहजै अनुमान लगाउन सकिन्छ । साच्चै भन्नु हो भने, थामिनसक्नु लाइन छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुनु भनेको भएपनि सयौँ मान्छे च्यापिएर खोपको लागि लाइनमा बसेका छन् । सुरक्षाको मापदण्ड कहि कतै देखिदैन ।

सिभिल हस्पिटलले टोकन बाड्ने समय विहान ७ बजेदेखि १० बजेसम्म राखेको छ तर टोकन लिनकै लागि सर्वसाधारणहरु राती २ बजेदेखि लाइनमा बस्छन् । दिनमा ८ सय टोकन बाँड्ने गरिएको छ । भेरोसेल खोपको दोस्रो डोज लगाउने सर्वसाधारणहरुले भने लाइन बस्नु परेको छैन् ।

खोप लगाउन आएकी तारा थापा भन्छिन्, ‘अब त खोप कार्ड नभई नहुने रे, त्यहि भएर घरको कामै छोडेर भए पनि लगाउन आएको हो । तर के गर्नु, पालो कहिले आउने हो ? हिजो पनि पालो नआएर खोपै नलगाई फर्के । आज त आउला नि पालो भन्दै आशा बोकेर लाइनमा बसेकी छन् ।

त्यस्तै खोप लगाउन आएकी रिता मगर भन्छिन, ‘म पुलचोकमा बस्छु, टोकन लिन विहान २ बजेदेखि आएको टोकन त पाए तर खोप लगाउने पालो भने कहिले आउने हो, थाहा छैन ?

उता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र विर अस्पतालमा पनि खोप लगाउनेको लर्को हवा्त्तै बढेको छ । त्यस्तै उपत्यकाका अन्य खोप केन्द्रहरुमा पनि खोप लगाउनेको घुँइचो देख्न सकिन्छ । यसबाट कोरोनाबाट बच्न खोप लगाउन गएका नागरिकहरु खोप लगाउन जाँदा नै संक्रमित हुने जोखिम उच्च बढेको छ ।

अहिले टिचिङ अस्पतालमा एकैपटक ६० भन्दा धेरै डाक्टर र नर्समा कोरोना देखिएको छ । एकैपटक यति धेरै संख्यामा चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा सञ्चालनमा पनि समस्या पर्ने देखिएको छ । पछिल्ला दिनमा देशभर र काठमाडौंमा समेत संक्रमित र मौसमी बिरामीको संख्या बढ्न जाँदा अस्पतालहरुमा बिरामीको चाप पनि बढेको छ ।

पछिल्लो साताको कोरोना तथ्याङकलाई हेर्दा गत विहिबार नेपालमा थप ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर शुक्रबार संक्रमणदर बढेर थप ९ सय ६८ जनामा कोरोना देखिएको थियो ।

त्यस्तै शनिवार थप ९ सय ४४ जनामा कोरोना देखिदा आइतबार भने  १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो दुई दिनमा त संक्रमण दर दोब्बरले बढेको देखिन्छ । पुस २७ अर्थात मंगलबार थप २ हजार ४ सय ४४ जनामा कोरोना देखिदा बुधवार भने ३ हजार नाघेको छ ।

त्यसैगरी बिहिवार थप १ हजार ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा आज ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको छ । यसरी नै संक्रमणदर बढ्दै जाने हो भने नेपालमा कोरोनाको तेस्रो लहरको अवस्था भयावह हुन धेरै समय लाग्दैन ।

यतिबेला कोरोनाको तेस्रो लहरको सन्त्रास नेपालमा पनि छाएको छ । त्यसैको कारणले होला, सवै सर्वसाधारणहरु खोप लगाउन आतुर देखिन्छन् । सर्वसाधारणहरु भोक, तिर्खा नै नभनि लाइन मै बसेर भएपनि खोप लगाइरहेका छन् ।

सरकारले सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य भनेर बाध्यात्मक बनाइदिँदा खोप लगाउनुपर्छ भन्ने बुझाइ त सर्वसाधारणमा परेको छ । तर खोपको पहुँच बढाउने अनि संक्रमण दर घटाउन खोप लगाउने व्यवस्था सहज बनाउनुपर्ने आवश्यकता छ । खोप केन्द्रहरुमा खोप लगाउनेको घुँइचो लागेपनि खोप केन्द्रको दायरा नबढाउनु भनेको स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्यलाई बेवास्ता गर्नु सरह नै हो ।