|  

डान्स क्लबमा आगलागी, ५ करोड बराबरको क्षति

३० पुस, काठमाडौं । बुटवलमा उद्घाटनका लागि तयार भइसकेको डान्स क्लबमा आगलागी भएको छ ।

उद्घाटनका लागि तयार भइसकेको डान्स क्लबमा  आज शुक्रबार दिउँसो आगलागी हुँदा करिब ५ करोड बराबरको  क्षति भएको छ । क्लब उद्घाटनका लागि दिउँसो करिब १ बजेतिर  फिनिसिङको काम गर्दै गर्दा विद्युत् सर्ट भएर आगलागी भएको थियो।

बुटवलस्थित सिद्धार्थ कटेज नजिकै रहेको प्लान बी डान्स क्लबमा आगलागी भएको हो। समयमै रुपन्देहीमा उपलब्ध दमकल बोलाएर आगो निभाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए।

बुटवल उपमहानगरपालिका, तिलोत्तमा, देवदह र सैनामैनाका दमकलको सहयोगमा आगो निभाइएको थियो। आगलागीबाट उद्घाटनको तयारीमा रहेको डान्स क्लबका भित्री सामान जलेर नष्ट भएको छ।

उद्घाटन गरी अधुरो कामलाई पूरा गर्ने क्रममा वेलिल्डङ गर्दा त्यहींबाट आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।