|  

भोलिदेखि ‘बुस्टर’ खोप दिइदै

१ माघ, काठमाडौं । नेपाल सरकारले भोलिदेखि ‘बुस्टर’ मात्रा खोप दिने भएको छ ।

सरकारले  कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ खोप  अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि  खोप दिइने भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले  ‘बुस्टर’ डोजका लागि  प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । 

सो डोज  ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्दछन् ।

‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने हुन्छ । कोभिड–१९ खोप सल्लाहाकार समितिले ‘बुस्टर’ डोज खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ ।