|  

आजको आवश्यकता सकारात्मकता

अनिल रायमाझी
५ माघ, काठमाडौं । लामो समयदेखिको कोरोना महामारीबाट विश्व नै थकित भइरहेको बेला अहिले फेरी कोरोनाको तेस्रो लहर ओमिक्रोन फैलिरहेको छ ।

नेपाल जस्तो मुलुकमा यसले ठुलो धक्का दिइरहेको छ । अर्थतन्त्रमा ठुलो क्षति पुगेको छ । कयौँले आफ्नो ब्यापार व्यवसायबाट हात झिक्न बाँध्य भएका छन् । नेपालको इतिहासबाटै विभिन्न राजनीतिक परिवर्तनहरू भए तर नागरिकको जीवन स्तर कहिल्यै पनि माथि उठ्न सकेन ।

राजनीतिक अस्थिरताको कारणले कुशल नेता-नेतृत्वको कमीले जनसमाजको जीवनमा गहिरो नकारात्मक असर पुगेको छ । खुशी र सन्तुष्ट कोहि पनि छैनन । प्रत्येक परिवार भित्र अशान्ति छाएको छ, सम्बन्धहरू छिन्न भिन्न भएका छन ।

जीवनको हरेक कोण र मोडमा अशान्ति, निराशा र तनावले गालिएको अवस्थामा, सकारात्मक भएर सरल जीवन जिउन निकै मुस्किल र चुनौति जस्तै छ । यो चुनौतीलाई पार गरेर एउटा सकारात्मक अनि सरल जीवन जिउन सक्ने क्षमता हामी प्रत्येकमा छ । त्यो क्षमतालाई सदुपयोग गरेर चुनौती पार गर्न सकिएन भने , हाम्रो मानसिक र शारीरिक स्वास्थ्य नै धरापमा पर्न सक्छ र बल्ल तल्ल पाएको यो जीवन, दुख, अशान्ति, निराशा र चिन्तामा नै बित्न सक्छ ।

कसरी सकारात्मक र खुशी रहने ?

यो पृथ्वीमा जति पनि जिव जन्तु छन् ती मध्ये हामी मानव जाति सर्वश्रेष्ठ प्राणीमा पर्छौँ । अन्य प्राणी भन्दा हामी कयौं गुना चेतनशील पनि छौँ । अन्य प्राणीले जस्तो हामीले जीवन बाँध्यकारी ढंगले जिउन पर्दैन । हामी आफ्नो इच्छा आकांक्षा अनुरूपको जीवन जिउन सक्छौँ ।

तपाई हामी शाहाकारी, मांसाहारी, हिन्दु, सनातनी, मुस्लिम आदि जस्तो बनेर पनि र जुन मार्गबाट पनि जिउन सकिन्छ तर एउटा बाघ शाहकारी बन्न सक्दैन । एउटा हात्ती मांसाहारी बन्न सक्दैन । अन्य जिव जन्तु बिभिन्न विकल्पहरूले भरिएको जिवन बाँच्न सक्दैनन । हामी मानिसको निम्ती यो ठुलो बर्दान हो जुन अरू प्राणीले पाएका छैनन, सबैको सिमित कर्म छ सिमित गुणहरू छन् । हामी हाम्रो कर्म कस्तो बनाउने, कस्तो कर्म गर्ने, आफ्नो स्वभाव र इच्छा अनुरूप छनौट गर्न सक्छौँ । छोटकरीमा भन्नु पर्दा हामी स्वयंम हाम्रो जिवनको निर्माता हो । त्यो क्षमता हामीसँग छ । त्यसो हुँदा सकारात्मक र खुशी जिवनको निर्माण किन नगर्ने ?

समयको आडमा हामीले जीवनको अनुभव गर्ने हो त्यसो हुँदा भबिष्य र विगतको कुरा छाडौँ । वर्तमानको कुरा गर्दा हामीले एक दिनमा २४ घण्टा पाउछौँ । त्यही २४ घन्टा भित्र हाम्रो वर्तमान जिवन गुन्जिरहेको हुन्छ । २४ घन्टामा हामी सामान्य ८ घन्टा सुत्छौँ , बाकी रहयो १६ घन्टा । १६ घन्टामा करिब ४ घन्टा हामी नित्य कर्ममा , खान पान, सृंगार, सर-सफाइका साथ साथै योजना नगरेका अवस्था र काममा बिताउँछौँ । अब हामीसँग रह्यो १२ घन्टा । यो १२ घन्टालाइ कसरी सदुपयोग गरेर बेतित गर्ने भन्ने चाही मुख्य प्रश्न हो ।

यो १२ घन्टा यानी यो एक दिन मेरो निम्ती अन्तिम दिन पनि हुन सक्छ । म यो १२ घन्टालाइ अत्यन्तै अविश्मरणीय बनाउछु । सोचेर, महसुस गरेर हामीले १२ घन्टा चेतनशील भएर बिताउन वा जिउन सकिन्छ । भोलिको सूर्योदय देख्न पाइन्छ पाइन्न हामी कसैलाइ थाहा हुदैन । देख्न पाइयो भने ठिकै छ अर्को २४ घन्टा आफ्नो हातमा छ भन्ने लगभग प्रत्याभूति गर्न सकिएला त्यसमा पनि ग्यारेन्टी भने छैन र देख्न पाइएन भने पनि हामीलाइ पश्चताप नहोस ।

वर्तमानको १२ घन्टा राम्ररी गुजारिएको खन्डमा पश्चताप कम हुन्छ । भविष्यमा के गर्ने , कसरी उत्कृष्ट बनाउने जस्ता सोच र विगतका तितो घटनाहरूको स्मरणले मानिसहरूमा एक किसिमको चिन्ता उत्पन्न भैरहेको हुदा सामान्य एक दिनलाई उत्कृष्ट बनाउनु पर्छ भन्ने चेतना गुमीरहेको हुन्छ ।

एक दिनलाई उत्कृष्ट बनाउन सके हामी हाम्रो एक हप्तालाई उत्कृष्ट बनाउन सक्छाँै । हप्ता उत्कृष्ट भए महिना उत्कृष्ट हुन्छ । महिना उत्कृष्ट भए बर्ष उत्कृष्ट हुन्छ । यो चक्र यसरी नै चलिरहन्छ । १० बर्ष खुशी र १० बर्ष स्वास्थ्यकर रहनु पर्ने भयो भनेर सोचियो भने कसरी सकिएला भन्ने लाग्छ । भारी थुपारेको जस्तो महसुस हुन्छ जुन स्वभाविक पनि हो तर त्यो कुरामा भने सत्यता छैन ।

तपाई हामी त्यती लामो समय सम्म बाँचिन्छ भन्ने टुगों छैन । तर बेलुका चिम्लेको आँखा भोली पल्ट खुल्छ भने कमसेकम त्यो दिन बाँच्ने सम्भावना बढेको अनुभुती पक्कै हुन्छ । त्यसपश्चात आज १२ घन्टाको निम्ती मात्र म आफ्नो स्वास्थ्यको ख्याल गर्छु । आजको १२ घन्टा म खुशी रहन्छु ,सकारात्मक हुन्छु भन्ने सोचको विकास गरी हामीले जीवन जिउने चेष्टा गर्नुपर्ने आवश्यकता छ ।

तपाईको कुनै नराम्रो बानी छन् भने तपाई एक दिनको निम्ती मात्र त्यो बानी हटाउने प्रयास गर्नुस । सधैको लागि त्यो बानी हटाउनु पर्छ भन्ने भावना नराख्नुस,मात्र आज एक दिनको निम्ती हो भन्ने सोच सहित दिन बिताउनुहोस । केवल एक दिन तपाई जीवन जिउन पाएकोमा कृतज्ञ हुनुहोस ।

बिहान बेलुका जुन अन्न भोजन गर्नु हुन्छ त्यो तपाईको जिवन हो । आफ्नो धड्किरहेको मुटुलाइ धड्किदिएकोमा धन्यवाद दिनुस । सुर्य,चन्द्रमा,हावा ,पानी आदि प्रति कृतज्ञता प्रकट गर्नुस । उनीहरूले दिएको सेवालाइ सम्झेर करूणाले आफुलाई भर्नुहोस । यहाँ सम्मको यात्रामा तपाइले जति ब्यक्तिहरूलाइ भेट्नु भयो,चिन्नु भयो ,देख्नु भयो सबै प्रति कृतज्ञ हुनुहोस । उनिहरूले तपाईलाइ जीवनको अनेक कालखण्डमा तिता मिठा सबै क्षणहरूको अनुभव गर्न सहयोग गरेका छन् ।

जीवन भनेकै अनुभवको संगालो हो त्यसैले १२ घन्टा तपाई जिवनलाइ पुर्ण रूपमा जिउछु भनेर प्रतिबद्धता गर्नुस र जिउनुस पनि । आफ्नो सपना र चाहना पुरा गर्न तपाइसँग पर्याप्त समय छैन ,जति छ आजै छ । तपाइको सपना र चाहनालाई जति सक्नु हुन्छ प्रत्येक दिन तन्काउनुहोस ।

जति सक्नु हुन्छ यथार्थमा परिणत गर्नुस, नभए एक कदम अगाडि बढी प्रक्रिया र पद्धतिमा ध्यान दिनुहोस । एक दिनमा सपना चाहाना कसरी पुरा हुन्छ ? प्रश्न उठ्न सक्छ, स्वभाविक पनि हो । तपाईले पाएको प्रत्येक दिनमा सपना र चाहाना प्राप्तिको निम्ती प्रयत्न नगरे सपना प्राप्ति कसरी हुन्छ ? प्रत्येक दिनको पहल र प्रयासले मात्रै भविष्यको बाटो तय हुने हो ।