|  

किन स्लो भइरहेको छ इन्टेरनेट ? यस्तो छ कारण

७ माघ, काठमाडौं । केही दिन यता देखि लगातार रुपमा इन्टरनेट स्लो भएर धेरै उपभोक्ताहरु तनावमा परेका छन् ।

समय समयमा इन्टरनेट सुस्त भएर काम गर्न कठिनाई  भएको धेरै उपभोक्ताको गुनासो छ । यसका साथै दैनिक रुपमा इन्टरनेट सुस्त हुने हुनाले इन्टरनेट सेवा प्रदायकहरुसँग इन्टरनेट सुस्त भएको गुनासो गर्ने क्रम पनि बढेको छ ।

अहिले सबै उपभोक्ताहरुको प्रश्न रहेको छ आखिर किन यस्तो भइरहेको छ त ?  किनभने अन्तर्राष्ट्रिय रुपमा इन्टरनेट प्रवाहको लागि प्रयोग हुने केबलमा समस्या देखिएका कारण नेपालमा पनि इन्टरनेट सेवा प्रभावित भएको सेवा प्रदायकहरुले जनाएका छन् ।

इन्टरनेट सेवा प्रवाहको लागि समुद्रमुनी बिछ्याइएको तारमा समस्या आएको नेपालका इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

मुम्बई–खाडी मार्गको सबमरिन (समुद्रमुनी बिछ्याइएको तार) मा समस्या देखिएको सेवा प्रदायकले जनाएका छन् । नेपालमा इन्टरनेट भित्र्याउने अपस्ट्रिम प्रोभाइडर टाटा, एयरटेलजस्ता सेवा प्रदायकले समुद्रमुनी बिछ्याएको तारमा समस्या देखिएपछि वैकल्पिक मार्ग उपयोग गरिएको विज्ञप्तिमा जनाइएको छ ।

वैकल्पिक मार्ग प्रयोग गर्दा इन्टरनेट सेवामा लेटेन्सी (हामीले खोजेको सामग्री सर्भरबाट आइपुग्न लाग्ने समय) बढ्ने र प्याकेट ड्रप (हामीले खोजेको समग्री नआइपुग्ने) हुने समस्या देखिएको सेवा प्रदायकले जनाएका छन् ।