|  

झुक्याएर होटल पु्र्याई सामूहिक बलात्कार, गम्भीर अवस्थामा उपचार हुँदै

९ माघ, काठमाडौँ ।  ३० वर्षकी एक महिलाले इटहरीस्थित एक घरमा शुक्रबारदेखि काम गर्न थालिन्। साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै थिइन्। गछिया खोला पुलनजिक ओर्लिएर एक युवकलाई उनले ‘लोकेसन’ सोधिन्। ती युवकले बहिनीको घर पु्र्याइदिने भनी गाडीमा राखेर लगे। तर, झुक्याएर होटलमा पु्र्याई राति तीन जनाले बलात्कार गरेको खुलेको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र प्रत्यक्षदर्शी भनिएकी आरती श्रेष्ठ पक्राउ परेका छन्। झापा घर बताउने रामबहादुर नेपाली फरार छन्। सुन्दरहरैंचा–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजका सञ्चालक हुन् अर्जुन। उनी र आरती भने पीडितलाई लिएर उपचार गर्न शनिबार विराटनगर आएका थिए। त्यही बेला उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मञ्जिल मुकारुङले बताए।

आरती त्यही होटलकी कामदार भएको खुलेको छ। उक्त घटनाबारे बेलैमा प्रहरीलाई जानकारी नदिएको, पीडित र उनका आफन्तलाई दुव्र्यवहार गरेको पाइएको डीएसपी मुकारुङले बताए। ‘होटलको एउटा कोठामा थुनेर रातभर महिलालाई तीन जनाले पालैपालो बलात्कार गरेको खुलेको छ’, मुकारुङले भने, ‘प्रहरीले घटनाका बारेमा शनिबार दिउँसो १ बजेतिर मात्रै थाहा पायो।’

अत्यधिक रक्तस्रावका कारण पीडितको अवस्था गम्भीर छ। उनी राम्ररी बोल्न सक्दिनन्। उनलाई कोसी अस्पतालमा भर्ना गरिएको छ। अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा। रिभा केसीले रक्तस्राव रोक्ने प्रयास जारी रहेको बताइन्।

‘रक्तस्राव अत्यधिक भइरहेको छ। रगत धेरै बगेका कारण रक्तचाप पनि निक्कै कम भएर गयो,’ उनले भनिन्, ‘पीडितको उपचारमा कुनै कमजोरी हुन नदिन सक्दो प्रयास गरिरहेका छौं। अवस्था निक्कै गम्भीर छ।’