|  

गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनको मृत्यु, तीन घाइते

९ माघ, काठमाडौं । ओखलढुंगामा गुडिरहेको बोलेरो जिपमाथि ढुंगा खस्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट झारेको ढुंगाले किच्दा ३५६९ नम्बरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका-१ की ७ वर्षीया युनिषा कोइराला, सोही ठाउँका १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका-१ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जिपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् । घाइतेको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी पठाउने तयारी भइरहेको छ । सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभिरमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । आज बिहान करिब नौ बजेतिर उक्त दुर्घटना भएको थियो ।