|  

चालु आवको ६ महिनामै लभभग १० खर्बको वस्तु आयात 

९ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामै लगभग १० खर्ब बरावरको वस्तु आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार साउन देखि पुससम्म कुल ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको हो । यो गत आव २०७७/७८ को यसै अवधिको तुलनामा ५१.१३ प्रतिशत धेरै हो । सो वर्ष ६ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

सरकारले उच्च आयात नियन्त्रण गर्न पुस पहिलो साता नियन्त्रात्मक प्रावधान ल्याएको थियो । तर, आंकडामा भने त्यसको प्रभाव परेको देखिँदैन । पुस महिनामा मात्र १ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
६ महिनामा निर्यात भने १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको भएको छ । निर्यातको वृद्धिदर ९५.४८ प्रतिशत छ । अघिल्लो आवको ६ महिनामा वस्तु निर्यात ६० अर्ब ७९ करोड रुपैयाँ बराबरको थियो ।

बढ्दो आयात र कमजोर निर्यातका कारण व्यापार घाटा चुलिएको छ । आंकडा अनुसार ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४६।६४ प्रतिशत धेरै हो ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो ६ महिनामै वैदेशिक व्यापारको आकार भने ११ खर्ब नाघिसकेको छ । यस अवधिमा कुल ११ खर्ब १८ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ५४।८६ प्रतिशत बढी हो । गत आवमा वैदेशिक व्यापारको आकार ७२ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।