|  

स्वस्तिमाको आइटम नृत्य रहेको ‘रंगविरंगी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

९ माघ, काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेको साउथ फिल्म ‘थिरिमाली’ को आइटम गीत ‘रंगविरंगी’ बोलको गीत सार्वजनिक भएको छ ।

उनको आइटम नृत्य रहेको भिडियो शनिवार सार्वजनिक भएको हो । उक्त भिडियो ट्रेन्डिङ ४ मा पर्न समेत सफल भएको छ । केहि दिन अघि फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको थियो । २ मिनेट ४१ सेकेन्डको ट्रेलरमा स्वस्तिमा आइटमको झलकका अलावा अन्य दृश्यमा समेत देखिएकी थिइन् ।

उक्त फिल्ममा नेपाली कलाकार माओत्से गुरुङलाई समेत देख्न सकिन्छ । खड्का फिल्ममा एक आइटम गीतमा देखिएकी छन् भने माओत्सेको महत्वपूर्ण भूमिकामा रहेको बताइएको छ ।

राजीव शेट्ठीको निर्देशन रहेको ‘थिरिमाली’ नेपालको पोखरा, काठमाडौं, लुक्ला लगायतका स्थानमा छायांकन भएको थियो । ट्रेलरमा नेपालका दृश्य पर्याप्त राखिएका छन् । फिल्मले भारतबाट नेपाल घुम्न आएको तीन साथीको कथा देखाउनेछ ।

उक्त फिल्मको प्रदर्शन मिति भने तय हुन बाँकी छ ।