|  

निर्वाचन आयोगको पत्र संविधान विपरित रहेको राप्रपाको ठहर 

९ माघ, काठमाडौं । निर्वाचन आयोगले पठाएको पत्र संविधान विपरित रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठकले ठहर गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्गेदनको अध्यक्षतामा आज बसेको पदाधिकारी बैठकले उक्त पत्र संविधानको मर्म र भावना विपरीत रहेको ठहर गरेको हो । निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र’को मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकाले सो वाक्यांश हटाइ नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुकूल हुनेगरी उल्लेख गर्नुहुन भनी पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर छ ।

राप्रपाले पार्टी झन्डा र चुनाव चिन्हको विषय पनि राप्रपाको मूल्य र मान्यता विपरीत रहेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको छ । निर्वाचन आयोगले राप्रपालाई पत्र काट्दै हिन्दुराष्ट्र र राजसंस्था शब्द विधानबाट हटाउन निर्देशन दिएको थियो ।