|  

बायर्नसँग लेवान्डोस्कीको सम्झौता सन २०२३ सम्म 

९ माघ, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले आफ्ना स्टार पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई एक वर्षको प्रस्ताव गरेको छ । तर त्यसलाई लेवान्डोस्कीले अस्विकार गरेका छन् ।

बायर्नसँग लेवान्डोस्कीको सम्झौता सन २०२३ को जुनसम्म रहेको छ । सम्झौता सकिन एक बर्ष बाँकी हुँदा क्लबले नयाँ सम्झौताका लागि थप एक बर्षको प्रस्ताव गर्ने योजना बनाएको थियो । बायर्नमा ३० बर्षभन्दा माथि पुगेका खेलाडीको सम्झौता एक बर्ष मात्र थप गर्ने प्रचलन रहँदै आएको छ ।

त्यही प्रचलन अनुसार क्लबले लेवान्डोस्कीलाई एक वर्षको प्रस्ताव गरेपनि त्यसलाई लेवान्डोस्कीले अस्विकार गरेको बताइएको छ । बिल्डका अनुसार बायर्न लगातार दोस्रो वर्ष फिफा द बेस्ट अवार्ड जितेका ३३ वर्षीय लेवान्डोस्कीलाई सोही पारिश्रमिकमा एक वर्षको नविकरण वा पारिश्रमिक कटौती गर्न सहमत भएमा दुई वर्षको सम्झौता प्रस्ताव गर्न इच्छुक छ ।

लवान्डोस्कीले सम्झौता नविकरण नगरे युरोपका ठुला क्लबहरु उनलाई अनुबन्ध गर्न इच्छुक हुनेछन् । क्लबका निर्देशक ओलिभर कान, कार्ल हेन्ज र हसन सालिहामिडजिकले लेवान्डोस्कीको भविष्य छिट्टै स्पष्ट हुने बताएका छन् । बायर्नले लेवान्डोस्कीको विकल्पमा बोरुसिया डर्टमुन्डका एर्लिङ ब्राउट हालान्डलाई अघि सारेको छ ।

ट्रान्सफर मार्केटमा लेवान्डोस्कीको बजार मुल्य अहिलेपनि ५० मिलियन युरो रहेको छ । यो युरोपका ठुला क्लबका लागि लेवान्डोस्की जस्ता गोल मेसिन खेलाडीका लागि ठुलो रकम हुनेछैन ।

लेवान्डोस्कीले आफ्नो भविष्यको बारेबाट पन्छिदै अहिले यसबारे सोच्ने बेला नभएको बताएका छन् ।