|  

के लुकेर पलले कानुनी लडाई जित्न सक्लान ?

निशा कार्की ।

१३ फागुन, काठमाडौं । चलचित्र क्षेत्रमा प्रेम सम्बन्ध र बिछोडका कुरा बाहिरिनु सामान्य मानिन्छ ।

तर, पछिल्लो समय बाहिरिएको एक नायक र गायिकावीचको सम्बन्ध भने गलपासो जस्तै बनिदिएको छ । उक्त सम्बन्ध हो, अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको ।

अहिले यी दुईवीचको सम्बन्धले चलचित्र क्षेत्रमै आँधी-बेरी चलेको छ । गायिका समिक्षाले पलले आफुलाई जबरजस्ती करणी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी समेत दर्ता गरेकी छन् । त्यतिमात्र हैन् उनले पल शाहसँग गरिएको सम्वादको अडिओ समेत सार्वजनिक गरेकी छन् ।

यता पल शाहले पनि एक अडिओ सार्वजनिक गर्दै आफुलाई फसाउन खोजिएको भन्दै स्पष्टिकरण दिएका छन् । उनले आफुलाई फसाउन समिक्षालाई उकास्ने ब्यक्तिको नामै तोकेका छन् । उक्त नाम यसप्रकार छ । दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँ ।

अहिले पल शाह फरार छन् किनकी उनलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई निर्देशन समेत दिइसकेको छ ।  प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गर्न आन्तरिक सर्कुलर नै जारी गरेको हो ।

के छ कानुनमा ?

मुलुकी अपराध संहिता २०७४ अनुसार आरोप प्रमाणित भए पललाई १२ वर्षसम्मको जेल सजाय हुनसक्ने अधिवक्ता वीरभद्र जोशी बताउँछन् । नेपालको मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा २ ले जवरजस्ती करणीलाई परिभाषित गरेको छ ।

उक्त दफाको उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ ।’

अधिवक्ता जोशी भन्छन्, पलले सहमति मै सम्बन्ध राखेको भएपनि यो दफा अनुसार उनी कानुनी रुपमा दोषी मानिन्छन् ।

समिक्षालाई चाही कसरी न्याय दिने ?

समिक्षाले दिएको जाहेरीमा २०७८ बैशाख १४ मा करणी भएको भनेर भनिएको छ । जवरजस्ती करणी भएको मितिले एक वर्षसम्म जाहेरी दिने समय भएपनि बैशाखमा भएको घटनालाई लिएर अहिले उजुरी दिनु पललाई फसाउने योजना नै देखिएको अधिवक्ता जोशीको ठम्याइ छ ।

उनी भन्छन्, ‘महिलाले भनेको मानुन्जेलसम्म बलात्कार नहुने, अनि महिलाको अपेक्षा विपरीत जाँदा चाहि बलात्कार हुने ? हाम्रो कानुन नै संशोधन गर्नुपर्ने देख्छु । यो कानुन अनुसार पुरुष जसरी नि फस्छ, पुरुष दोषी भएपनि नभएपनि ।’ उनका अनुसार हाम्रो नेपालको कानुन नेपाली समाजमा मिल्ने खालकै छैन् ।

उनले भने, जवरजस्ती करणी सम्बन्धी कानुन निर्मला पन्तको जस्तो बलात्कार तथा हत्या केशको लागि यो प्रावधान राखिएको हो । तर यसको दुरुपयोग भएको छ । वास्तविक पिडितले यो कानुन बमोेजिम न्याय पाएकै छैनन् । पिडित नभएकाले यो कानुनको दुरुपयोग गरिरहेका छन् ।

अब के हुन्छ ? 

कानुनले पिडितको जाहेरी, पिडितको बयान, स्वास्थ्य परिक्षण रिपोर्ट लगायतका कुरा हेरेर फैसला गर्ने गर्दछ । जसका कारण अब पल कानुनी जालमा परिसके । उनले फेसबुक होस वा अन्य जुनसुकै माध्यमबाट जे स्पष्टिकरण दिए पनि त्यसको महत्व छैन् ।

शारीरिक रुपमा पनि पुरुषभन्दा महिला नै कमजोर मान्ने नेपालको कानुनी मान्यता छ । नेपालको कानुन महिलामैत्री छ । किनकी कानुनमा महिला नै पिडित भन्ने राखिएको छ । पलले जवरजस्ती करणी गरेको पुष्टि भए उनलाई १० देखि १२ बर्षसम्मको जेल सजाय हुन सक्ने सम्भावना छ ।

मिलेर जाने सम्भावना कति ?

उजुरी दर्ता भएर पक्राउ पुर्जी समेत जारी भइसकेकोे अवस्था छ । अब मिल्ने सम्भावना शुन्य छ । किनकी यो मुद्धा अब समिक्षाको मात्र हैन, सरकारको भइसक्यो । समिक्षाले समेत यो मुद्धा अब फिर्ता लिन मिल्दैन । सरकारवादी मुद्धा भएकाले पलले अब यो मुद्धा लड्नुको विकल्प छैन् ।