|  

के महिलाहरुले पुरुषहरुलाई विक्टिम नै बनाएका हुन त ? 

निशा कार्की ।

२५ चैत, काठमाडौं । पछिल्लो समय भएका केहि चर्चित घटनाहरु नियाल्दा महिला कानुनी रुपमा मात्र हैन, सामाजिक रुपमा पनि पुरुषभन्दा निकै नै माथि पुगेको भान भएको देखिन्छ ।

नेपालको कानुनले पुरुषभन्दा महिलालाई बढी अधिकार पनि दिएको छ, यसलाई सत्य मान्नैपर्छ । नेपाली समाज पुरुषोत्व समाज भएकाले अझैपनि नारी र पुरुषलाई बराबर हैसियमा राखेर हेर्न हाम्रो समाज अन्कनाउँछ । यसबाट नेपालमा पुरुषोत्व सत्ता अझै कायम रहेको प्रष्ट देखिन्छ ।

तर पनि अहिले महिलाहरुका कारण पुरुषहरु अन्यायमा परेको भन्ने आवाज उठ्न थालेको छ । महिलाहरुको लागि समुदायका अग्रज महिलाहरुदेखि लिएर महिला मानव अधिकार रक्षकहरुको सञ्जाल, महिला पुनस्थापना केन्द्र (ओरेक), सामुदायिक संस्थाहरु र अन्य मानवअधिकारवादी संघ संस्थाहरुले बिगतका दिनदेखि आवाज उठाइरहेका छन । तर पुरुषहरुले न्याय माग्ने जाने ठाउँ कहा भन्ने प्रश्न यतिबेला उब्जिएको छ । कतिपय घटनामा महिला अधिकारकर्मीहरुले पनि पुरुषको न्यायका लागि आवाज उठाइरहेका छन ।

कसरी परे पुरुष अन्यायमा ?

करणी सम्बन्धी घटनामा अदालतले मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यान्वयन संहिता २०७४ र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को बुँदालाई टेकेर फैसला गर्ने गर्दछ । १८ वर्षमुनिकालाई नाबालिग मानिने नेपालको कानुनमा उल्लेख छ । तर नेपालको कानुन महिलामैत्री ढङगले बनाइएको भन्दै टिप्पणी हुन थालेको छ ।

मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यान्वयन संहिता २०७४ र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को बुकको पेज नम्बर ८३, परिच्छेद १८ को २१९(३) (घ) मा यस्तो उल्लेख छ ।
परिच्छेद – १८
करणी सम्बन्धी कसूर
२१९.जवर्जस्ती करणी गर्न नहुनेः 
(३) जवर्जस्ती करणी गर्ने ब्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहाय बमोजिम कैद हुनेछ ः–
(घ) सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्ष देखि बाह्र वर्षसम्मको सजाय ।

यो (घ) बुँदामा १६ वर्षदेखि १८ वर्षकालाई नाबालिका भन्ने शब्द किन लेखिएन ? यसलाई संशोधन गर्नुपर्ने बहस सूरु भएको छ । नेपालको कानुनले महिला लेख्दै नाबालिग भनेर कारबाही गरिरहेको पनि टिप्पणी हुन थालेको छ । नेपालमा महिलालाई नदिएको अधिकार सबै दिइयो तर पुरुषलाई नदिइएको अधिकार दिइएन जस कारण पुरुष अन्यायमा परेका छन भन्ने बहस पुरुष-पुरुषबीचमा चलिरहेको छ । नागरिकता १६ वर्षमा पाइने तर नाबालिग चाँही १८ वर्षसम्म किन ? भन्ने उनीहरुको प्रश्न छ । पुरुषहरुले १६ वर्षसम्मकालाई मात्र नाबालिग मान्नुपर्ने माग गरिरहेका छन् । यस कुरामा कतिपय महिला अधिकारकर्मीहरुले सहमति पनि जनाएका छन् ।

पछिल्लो समय चर्चामा आएको एउटा घटना हो, नायक पल शाहसम्बन्धी । नायक पल शाहविरुद्ध एक नाबालिग गायिकाले यौन दुब्र्यवहार गरेको भन्दै उजुरी दिएकी छन । यस विषयमा यसअघि कसैले पनि खासै चासो नदिएको भएपनि त्यस घटनापछि भने पुरुषहरु अन्यायमा परेको भनेर चर्को वहसहरु भइरहेका छन । केहि चर्चित प्रकरणलाई मात्र हेरेर महिलाहरुले पुरुषलाई विक्टिम बनाए भन्नु कत्तिको सान्र्दभिक हो ? यो प्रश्नको पनि उत्तर खोज्ने हो की ?

पछिल्लो समय सार्वजनिक महिला हिंसाका घटनाहरु

नेपालमा राज्यका संरचनाहरूमा महिलाहरूको प्रतिनिधित्व सुदृढ बन्दै गएको भए पनि महिलाविरुद्धका हिंसामा भने कमी आएको देखिदैन । महिलामाथि हुने बलात्कारजस्ता जघन्य अपराधका घटना नियन्त्रण हुनुको साटो बढ्दै गएको भन्दै सरोकारवालाहरूले चिन्ता समेत व्यक्त गरिरहेका छन् ।

अघिल्लो एक महिनामा मात्रै पनि २७ वटा बलात्कारका घटना घटेको र तीमध्ये ३ जनाको बलात्कारपछि हत्या गरिएको महिला पुनःस्थापना केन्द्र (ओरेक) ले जनाएको छ । त्यस्तै ओरेकले सार्वजनिक गरेको पछिल्लो एक महिनाको तथ्यांकअनुसार उक्त अवधिमा १ सय २७ वटा महिला हिंसाका घटना सार्वजनिक भएको र तीमध्ये २७ वटा बलात्कार र ३ वटा बलात्कारको प्रयास भएको थियो । ओरेकले सार्वजनिक गरेको तथ्यांकअनुसार बलात्कारका २७ घटनामध्ये ३ जनाको बलात्कारपछि हत्या भएको थियो । बलात्कृत भएकामध्ये सबैभन्दा बढी ५६ प्रतिशत १६ वर्षभन्दा कम उमेर समूहका बालिका तथा किशोरी र २६ प्रतिशत १७ देखि २५ वर्ष उमेर समूहका महिला रहेका छन् ।

प्रहरीको तथ्याङ्कले पनि विगत पाँचवटा आर्थिक वर्षमा नेपालमा ८,००० भन्दा बढी बलात्कार र ३,१०० भन्दा बढी बलात्कारको प्रयासका घटना भएको देखाउँछ । यी तथ्याङकलाई हेर्दा महिलामाथि हुने हिंसा घट्नुको साटो बढेको देखिएको छ ।

यो तथ्याङकलाई नियाल्दा महिलाहरुको अवस्था खासै सुधारिएको जस्तो देखिदैन । अझैपनि महिलाहरु निर्धक्क भएर हिड्न सक्ने वातावरण हाम्रो समाजमा बनिसकेको छैन । हाम्रो समाजमा पुरुष हिंसा पनि नभएको भने हैन । कतिपय महिलाहरुले अन्डर एजका बालकदेखि लिएर पुरुषहरुको पनि हिंसा गरेका छन् । तर त्यो महिला हिंसाको तुलनामा नगन्य अवस्थामा छ । त्यसैले अब महिलाहरुले मात्र हैन पुरुषहरुले पनि समाजले मलाई के भन्छ भनेर हिंसा सहेर बस्ने हैन, आवाज उठाउन सक्नुपर्छ ।

महिला अधिकार दुरुपयोग

नेपालको समाज पितृसत्तात्मक भएपनि नेपालको कानुन भने महिलामैत्री छ । जसकारण कतिपय महिला अधिकारकर्मीहरुले गलत ढङगबाट आफुहरुले पाएको अधिकारको दुरुपयोग गरेको आरोप लाग्न थालेको छ । यस आरोपलाई महिला अधिकारकर्मीहरुले नै स्वीकार गरेका छन् ।

महिला अधिकारकर्मी एवम समाजसेवी मोनिका बस्नेत भन्छिन, ‘एक/दुई जना गलत महिलाका कारण अन्य महिलाको पनि बदनाम र बेइज्जत भएको छ । एक समाजसेवी तथा महिला अधिकारकर्मी भएको नाताले आफुले गलत महिलालाई गलतै ढङगमा राख्ने गरेको छु । पछिल्ला घटनाहरुलाई नियाल्दा पुरुषहरु अन्यायमा परेको मलाई पनि आभाष हुन थालेको छ ।’

समाजसेवी बस्नेतले नेपालमा पुरुष बलात्कृत भए न्याय मान्न जाने ठाउँ समेत नभएकोमा दुखेसो ब्यक्त गर्दै भनिन, ‘यो अवस्थालाई निर्मुल गर्ने प्रयत्न गर्नेछु ।’ उनका अनुसार, यसलाई निर्मुल पार्न नागरिकतालाई पनि अनिवार्य गर्नुपर्छ । उनले भनिन,‘ १६ वर्षभन्दा मुनिकालाई डान्सबार, कुनैपनि पार्क, पिकनिक जस्ता सार्वजनिक ठाउँमा कडाई गर्नसके अहिलेको अवस्था अन्त्य हुन मदत पुग्दथ्यो ।’

त्यस्तै सुचित्रा श्रेष्ठ भन्छिन, पछिल्लो समय महिलाहरुले पुरुषलाई दुरुपयोग गरिरहेका छन । अहिले हाम्रो समाजमा महिलालाई भन्दा पनि पुरुषलाई जोगाउन गाह्रो भएको छ ।

निष्कर्ष

नेपालमा धेरै हिंसा तथा बलात्कारका घटनाहरु छन, जुन घटनाका पिडितहरुले भने अझै न्याय पाएका छैनन । केहि चर्चित प्रकरण र महिला अधिकारको नाममा गलत क्रियाकलाप गर्न सहयोग पु¥याउने तत्वहरुका कारण बास्तविक हिंसा पिडित न्यायको छाँयामा पर्न बाध्य छन् । त्यसकारण यसविषयमा राज्यका साथसाथै वुद्धिजीवी, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, सरोकारवाला, समाजसेवी लगायत सम्बन्धित निकायहरुले विशेष ध्यान पु¥याउनुपर्ने आवश्यकता देखिन्छ ।

नारीले पुरुषलाई र पुरुषले नारीलाई विक्टिम बनाएर संसार चल्दैन । त्यसैले हचुवाको भरमा हैन, सुजबुझका साथ नारी र पुरुषका मुद्धामा बहस गर्नु जरुरी हुन्छ । महिला र पुरुषबीच रहेको असमान शक्ति सन्तुलन, महिलाको आर्थिक परनिर्भरता र कानुन कार्यान्वयनको अवस्था कमजोर रहिरहेसम्म यस किसिमको अपराधमा कमी आउँदैन । गरिबी, अशिक्षा र आर्थिक परनिर्भरतालाई घटाउन सके पनि महिलामाथि हुने हिंसाका घटनामा कमी ल्याउन सहायकसिद्ध हुन सक्थ्यो कि ?